भक्तपुरको तेश्राटारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, ३ माघ । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले भक्तपुरको तेश्राटारमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । केएमसीले आज मध्यपुर नगरपालिका ठिमी वडा नं. ३ स्थित सिद्धेश्वर महिला बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।
स्वास्थ्य शिविरमा ६६२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा ८९ जनाको इसिजी, १३९ जनाको ल्याब परीक्षण, १४४ जनाको भिडियो एक्सरे गरिएको छ । साथै, शिविरमा आएका ७ जनाको दाँत खोलिँदा १७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
केएमसीले विगत २ वर्षयता सामाजिक उत्तरदायित्व अन्तरगत नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दा महिला, बालबालिका, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरु बढी लाभान्वित भइरहेका छन् ।
अस्पतालको स्वास्थ्य सेवालाई बढीभन्दा बढी सर्वसाधारणको पहुँचमा स्थापित गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर गरिँदै आएको केएमसीका प्रिन्सिपल प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठले बताए । केएमसीको स्वास्थ्य सेवालाई जनस्तरमा पुर्याउन समाजसेवी डा. सुनिल शर्माले (हाल प्रतिनिधिसभा सदस्य) निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका थिए ।
0 प्रतिकृया