डा. रूइतलाई प्रतिष्ठित इसा अवार्ड
एक्सन खबर
काठमाडाैं, ३ माघ । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित प्रतिष्ठान इसा अवार्ड नेत्र चिकित्सक सन्दुक रूइतले प्राप्त गरेका छन् । प्रत्येक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिने उक्त पुरस्कार पहिलाे पटक नेपाली चिकित्सकले प्राप्त गरेका हुन् ।
बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले १० वर्षदेखि यो अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको पाँचौं संस्करण–सन् २०२३ मा डा. रुइतलाई उक्त पुरस्कार घोषणा दिन लागिएकाे हाे ।
इसा अवार्डमा डा. रुइतलाई १० लाख डलर (करिब १३ करोड ८ लाख नेपाली रुपैयाँ), गोल्ड मेडल र प्रमाणपत्र आउँदाे फेब्रुअरीमा प्रदान गरिने भनिएकाे छ ।
मंगलबार आयोजित पुरस्कार घोषणा समारोहमा डा. रुइतले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि इसा अवार्डमा छनाैट गरिएकाे राजाका प्रतिनिधिको रूपमा उपस्थित राजपरिवारका सदस्य शेख मो. बिन मुबारक अल खालिफाले जानकारी दिए ।
डा. रुइतले मोतियाबिन्दु भएका बिरामीको उपचार गर्ने सरल विधि विकास गर्नुका साथै इन्ट्राअकुलर लेन्सको विकास गरी सुलभ दरमा उपलब्ध गराएका थिए । त्यसबाट नेपाललगायत विकासोन्मुख देशका अन्धोपन भएका लाखौं व्यक्तिले नेत्रज्योति प्राप्त गरेका छन् ।
इसा अवार्ड यसअघि मलेसियाकी चिकित्सक जमिला महमूद (सन् २०१३), भारतका समाजसेवी तथा शिक्षाविद् डा. अच्युत सामन्त (सन् २०१५), इजिप्टको बालबालिका क्यान्सर अस्पताल (सन् २०१७) र पाकिस्तानको ईदी फाउन्डेशन (सन् २०१९) लाई प्रदान गरिएको थियो । कोभिडका कारण चार वर्ष यता राेकिइरहेकाे याे अवार्ड घोषणा गरिएको हो ।
मंगलबार घोषणा गरिएको अवार्डका लागि सुरुमा १४५ जना व्यक्ति तथा संस्था नोमिनेसनमा थिए । वैज्ञानिक, प्राध्यापक, पूर्वराजनीतिज्ञ लगायतका प्रतिष्ठित व्यक्तिहरूको छनोट समूहले उनीहरू मध्येबाट डा. रुइतलाई छनोट गरेको हो । १४५ जना/संस्थाको सूचीबाट ६ जना/संस्थालाई सर्टलिस्ट गरिएकोमा अमेरिकास्थित परोपकारी संस्था मर्सी शिप, बंगालादेशको फ्रेन्ड्सशिप एनजीओ, गरिबको हितमा सक्रिय कोलम्बियाली क्यामिलो जोस हेरेया, वातावरण संरक्षणमा क्रियाशील केन्याकी न्जाम्बी माटी, स्वीटजरल्यान्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठन फाउन्डेशन र नेपालका डा. रुइत थिए ।
युनिभर्सिटी अफ मायामीका प्रसिद्ध कानुन प्राध्यापक जान पलसनको नेतृत्वमा रहेको जुरीले डा. रुइतलाई छनोट गरेको हो । उनको नेतृत्वमा सेनेगल, अर्जेन्टिना, पाकिस्तान, मोरक्कोलगायत देशका प्रसिद्ध व्यक्तिहरू रहेको सात जनाको जुरीले १४५ जनाबाट अन्तिममा डा. रुइतलाई छनोट गरेको हो ।
६ जनाको सर्टलिस्ट प्रकाशित भएपछि अवार्ड छनोट समिति सदस्य तथा अनुसन्धानकर्ताहरूले ६ जना व्यक्ति र संस्था रहेको देशमा स्थलगत भ्रमण गरी उनीहरूले गरिरहेको कामबारे जानकारी लिएका थिए ।
डा. रुइत एमबीबीएसमा शल्यक्रियामा गोल्ड मेडलिस्ट हुन् । उनले सन् २००६ मा प्रतिष्ठित रोमन म्यागसेसे पुरस्कार सँगै सन् २०१८ मा भारत सरकारकाे पद्मश्री सम्मानबाट सम्मानित भईसकेका छन् । उनलाई २०७२ मा भुटानको उच्च सम्मान नेशनल अर्डर अफ मेरिट पनि दिइएकाे छ । २०७५ सालमा नेपालमा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र २०७७ मा सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) पदक प्राप्त गरेका छन् ।
0 प्रतिकृया