ललितपुरको खुमलटारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, ४ माघ । काठमाडौं मेडिकल कलेजले ललितपुरको खुमलटारमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । केएमसीले आज ललितपुर महानगरपालिका वडा नं. १५ मा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।
स्थानीय लाइफलाइन होम केयरसँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ५६१ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा ३७ जनाको इसिजी, ८९ जनाको ल्याब परीक्षण र १०१ जनाको भिडियो एक्सरे गरिएको छ । स्वास्थ्य शिविरमा आएका मध्ये १३ जनाको दाँत खोलिँदा १९ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत आम सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको केएमसीका प्रिन्सिपल प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठले बताए । तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष समाजसेवी डा. सुनिल शर्माले केएमसीको स्वास्थ्य सेवालाई गाउँगाउँ पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सुरु गरेका थिए । हाल डा. शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएपनि उनले सुरुवात गरेको अभियानलाई केएमसीले निरन्तरता दिइरहेको छ ।
0 प्रतिकृया