काभ्रेको पाँचखालमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, ५ माघ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काभ्रेपलाञ्चोकको पाँचखालमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । पाँचखाल नगरपालिका वडा नं. १२ स्थित आजाद मा.बी.मा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ९४४ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।
उक्त स्वास्थ्य शिविरमा १०९ जनाको इसिजी, १८२ जनाको ल्याब परीक्षण, १९७ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । यस्तै, शिविरमा १७ जनाको दाँत खोलिँदा ४७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
लाइन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवती, लायन्त क्लब अफ भक्तपुर रुद्राक्ष, लाइन्स क्लब अफ भक्तपुर सिद्धकाली, उज्यालो नेपाल, लियो क्लब अफ भक्तपुर, लियो क्लब अफ सिद्धकालीसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो । स्वास्थ्य शिविरमा केएमसीका विशेषज्ञ चिकित्सकहरुले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा आम सर्वसाधारणको स्वास्थ्य परीक्षण गरेका थिए ।
केएमसीका प्रिन्सिपल प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठले केएमसीको स्वास्थ्य सेवालाई गाउँगाउँमा पुर्याउँदै सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गरिएको बताए । केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष समाजसेवी डा. सुनिल शर्माले निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका थिए । डा. शर्मा अहिले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएपनि उनले सुरु गरेको अभियानलाई जारी राखिएको छ ।
0 प्रतिकृया