Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


ग्रामिण क्षेत्रको विकासमा लघुवित्तको भूमिका महत्वपूर्णः मन्त्री भगबती चौधरी

एक्सन खबर
माघ, ७, २०७९


ग्रामिण क्षेत्रको विकासमा लघुवित्तको भूमिका महत्वपूर्णः मन्त्री भगबती चौधरी

काठमाडौं, ७ माघ । लघुवित्त संस्थाहरुले ग्रास रुटमै गएर काम गर्ने हो भने ग्रामिण अर्थतन्त्र सुधार्न धेरै टेवा पुग्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छिन् । लघुवित्त क्षेत्रले मुलुकको विकास, वित्तिय साक्षरता वृद्धि गर्न र महिला सशक्तिकरणका सवालमा योगदान दिएको चर्चा गर्दै राज्यको नीति र नियम अनुसार काम गर्ने संस्थाहरुलाई सम्मान गर्नेगरी अगाडी बढ्नु पर्ने बताइन् ।

शुक्रबार स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२ औं वार्षिकोत्सव समारोहलाई संवोधन गर्दै मन्त्री चौधरीले लघुवित्त कार्यक्रमले विपन्न तथा ग्रामिण क्षेत्रका नागरिकको जिवनस्तर उकास्न योगदान दिएतापनि पछिल्ला दिनहरुमा ऐन, नियम विपरित गैरकानुनी गतिविधिहरु भएको गुनासो आइरहेकोले त्यस्ता कृयाकलापहरु सुधार गर्नुपर्ने बताइन् ।

‘महिला सशक्तिकरण, ग्रामिण क्षेत्रको विकासमा लघुवित्तको महत्वपूर्ण योगदान छ तथापि, पछिल्ला दिनहरुमा केही गलत कृयाकलाप भएको गुनासो आइरहेकोले सच्चिन जरुरी छ । राज्यको निती, नियम र कानुनमा सबै बस्नुपर्छ ।’ मन्त्री चौधरीले लघुवित्त संस्थाहरु विचको अस्वस्थ प्रतिष्पर्धा हटाएर स्वस्थ प्रतिष्पर्धामा जान मर्जरको नीति उत्तम रहेको पनि बताइन् ।

गरिवी न्यूनिकरणमा लघुवित्तको प्रभावकारी भूमिका रहेको बताउँदै सांसद लीलानाथ श्रेष्ठले अहिलेको बिग्रँदो आर्थिक अवस्थामा सुधार ल्याउन लघुवित्तको भूमिका महत्वपूर्ण रहन सक्ने चर्चा गरे । अर्का, सांसद तथा लघुवित्त अभियन्ता योगेन्द्र मण्डलले लघुवित्त संस्थाहरु आफ्ना उद्देश्य र नीति अनुसार चल्नुपर्ने बताउँदै कुनै एउटा संस्थाले गलत गरे समग्र लघुवित्त क्षेत्रलाई राज्य र जनताले हेर्ने दृष्टिकोण खराब बन्ने बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीले मुलुकको गरिबी निवारणमा लघुवित्त क्षेत्रले महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै महिला सशक्तीकरणका सवालमा पनि लघुवित्तले योगदान दिएको बताए । लघुवित्त क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले लघुवित्तको छविमा असर पुगेको जनाउँदै अस्वस्थ प्रतिस्पर्धालाई बेलैमा सुधार्न सबै लाग्नु पर्ने जिकीर गरे ।
कार्यक्रममा संस्थामा आवद्ध ज्येष्ठ ग्राहक सदस्यहरु, उत्कृष्ट लघु उद्यमी, वचतकर्ता तथा केन्द्रहरु, सञ्चालक समितिका पूर्वसञ्चालकहरु तथा २० वर्ष सेवा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । भने, उत्कृष्ट शाखा कार्यालय, कर्मचारीका छोराछोरीहरुमध्ये २०७८ सालको एसईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउनेहरुलाई पनि नगदसहित सम्मा गरिएको थियो ।














0 प्रतिकृया