तलब सुविधा नलिने सांसद डा. सुनिल शर्माद्वारा संसद सचिवालयलाई जानकारी
काठमाडाैं, ११ माघ । मोरङ क्षेत्र न. ३ का सांसद डा. सुनिल शर्माले सांसदले पाउने सेवा सुविधा नलिने भन्दै संसद सचिवालयलाई जानकारी गराएका छन् । समाजसेवी समेत रहेका नेपाली कांग्रेसका सांसद डा. शर्माले संसद सचिवालयलाई पत्राचार गर्दै आफुले पाउने कुनैपनि आर्थिक सेवा सुविधा नलिने बताएका हुन् ।
मंसिर ४ गतेको निर्वाचन ताका नै संसदबाट कुनै सेवा सुविधा नलिने घोषणा गरेका डा. शर्माले सोको लिखित जानकारी संसद सचिवालयलाई गराएका हुन् । डा. शर्माले तलब, भक्ता, घरभाडा लगायतका सुविधा नलिने जनाएका छन् ।
प्रतिनिधि सभा सदस्यले ६६ हजार ७० रुपैयाँ मासिक पारिश्रमिकको रुपमा पाउँछन् । मासिक रुपमा विशेष भत्ता बापत १ हजार रुपैयाँ, सञ्चार सुविधा बापत ३ हजार रुपैयाँ र धारा, पानीको नाममा २ हजार रुपैयाँ गरी मासिक रुपमा एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन् ।
आवास सुविधा भनेर काठमाडौं उपत्यकामा घर नहुने सांसदहरुले मासिक १८ हजार रुपैयाँ पाउँदा उपत्यकामा घर हुनेहरुले ९ हजार रुपैयाँ पाउँछन् । सांसद निर्वाचित भएर आइसकेपछि एकपटकका लागि फर्निचरका लागि १५ हजार रुपैयाँ दिइन्छ । सांसदहरुले समिति र सभाको बैठकमा उपस्थिति भएपछि बैठक भत्ता बापत १ हजार रुपैयाँ र सभा तथा बैठकमा आवतजावतको लागि थप १ हजार रुपैयाँ पाउनेछन् ।
सांसदको दैनिक कामकाजमा सघाउने हेतुले सचिवालयमा राजपत्रांकित तृतिय श्रेणी सरहको स्वकिय सचिव नियुक्त गर्न दिनेछ । सांसदहरुले स्वदेशभित्र कुनै भ्रमण गर्नुपरेमा दैनिक भ्रमणभत्ता बापत २ हजार ५०० र विदेश भ्रमण गर्नुपरेमा प्रतिदिन २२५ डलर पाउनेछन् ।
त्यस्तै सांसदहरुले उपचार खर्च पनि पाउने गरेका छन् । कुनै रोगको सम्बन्धमा परामर्श लिनुपरेमा संघीय संसद सचिवालयमा वरिष्ठ चिकित्सकले निःशुल्क परामर्श दिने व्यवस्था गरिएको छ । अस्पताल भर्ना हुनुपरेको अवस्थामा सरकारी अस्पतालमा भर्ना भएमा बिल अनुसारको सम्पूर्ण रकम उपलब्ध गराउने र निजी अस्पतालमा भर्ना भएको भए बिलको आधा रकम पाउने भनिएको छ ।
डा. शर्माले यी सबै सेवा सुविधाहरु नलिने घोषणा गरेका हुन् ।
0 प्रतिकृया