आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको आराधना गरिँदै
काठमाडाैं, १२ माघ । आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन ‘श्रीपञ्चमी’ पर्व मनाइन्छ ।
सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । श्री पञ्चमीका अवसरमा साना साना बालबालिकाहरूलाई अक्षराम्भ पनि गराइन्छ ।
बालबालिकालाई नाक–कान छेड्न पनि शुभ मानिन्छ । उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो छ ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी, शिक्षक विद्यार्थी, साहित्यकार, लेखक, कलाकार, पत्रकारले आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् ।
चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ ।
यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ । वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन्छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । सरस्वतीलाई चढाइएको सात गेँडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
वसन्त पञ्चमी पर्व आज बिहान १०:४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०:४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो ।
वसन्त श्रवणमा राष्ट्रपति सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहनेछ ।
0 प्रतिकृया