गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेजः ‘म अनागरिक भएँ’ लामिछाने
काठमाडौं, १३ माघ । गृहमन्त्री रवि लामिछानेको नागरिकता कानुन सम्मत नभएको सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला गरेको छ । संवैधानिक इजलासले लामिछानेको नागरिकता कानुनसम्मत नभएको फैसला गरेसँगै उनको सांसद पद बदर भएको फैसला सुनाएको हो ।
रवि लामिछाने नेपालको नागरिक कायम नरहेको सर्वोच्च अदालतको फैसलापछि उनको मन्त्री पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद समेत स्वतः खारेज भएको छ ।
नेपालको संविधानअनुसार कुनै पनि दलको सदस्य वा सांसद हुन नेपाली नागरिक हुनु अनिवार्य भएकाले लामिछानेको नागरिकता कायम नरहेपछि उनी कुनै पनि दलको सभापति र सदस्य सांसद र मन्त्री पनि बन्न अयोग्य रहेका छन् ।
लामिछानेले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता कायम नरहेको अदालतको भनाइ छ। नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेकाले उनी कानुनसम्मत रूपमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन योग्य नरहेको अदालतको ठहर छ।
‘रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रूपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन,’ फैसलामा भनिएको छ ।
अब लामिछानेले नेपालको नागरिकता लिन चाहे पुनः प्राप्तिको प्रक्रियामा जानुपर्ने हुन्छ ।‘‘निजले चितवन २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भई निर्वाचितसमेत भएको देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मेदवार कामय गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाण पत्र दिनेलगायत कामकारबाही नेपालको संविधानको धारा १३३ को उपधारा २ (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ,’ फैसलामा भनिएको छ ।
‘म अनागरिक भएँ’ लामिछाने
अदालतले सांसद पद बदर गरिदिएपछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजिनामा दिएका छन् । बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री प्ुष्पकमल दाहाल समक्ष राजिनामा बुझाएका हुन् ।
लामिछानेका प्रेस सहयोगी नवराज पाण्डेका अनुसार लामिछानेले अब पुनः प्रक्रिया पुर्याएर नागरिकता लिनेछन्। लामिछानेले विगतमा काभ्रेपलाञ्चोकबाट नागरिकता लिएका थिए।
शुक्रबार साँझ गहृ मन्त्रालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले लामिछानेलाई सर्वोच्चको फैसलाबारे प्रश्न सोधेकामा उनले आफु अनागरिक भएको प्रतिक्रिया दिए । ‘म एक अनागरिकलाई तपाईंहरू के प्रश्न सोध्नुहुन्छ,’ उनले भने । साथै उनले एउटा अनागरिकले के गर्छ भन्ने पनि आफुलाई थाहा नभएको बताए ।
0 प्रतिकृया