नेपाल मेडिकल कलेजमा मनाइयो राष्ट्रिय नर्स दिवस
काठमाडौं, १५ माघ । राष्ट्रिय नर्स दिवसको अवसरमा नेपाल मेडिकल कलेजले कार्यरत नर्सहरुसँग शुभकामना आदान प्रदान गरेर मनाएको छ । अत्तरखेल जोरपाटीस्थित कलेजले आज ६१ औं नर्सिङ डे मनाएको हो ।
कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले सो अवसरमा केक काट्दै बिरामीहरुको स्याहार सुसारमा जीवन अर्पण गर्ने नर्सहरुको लगनशीलता, मेहनत र इमान्दारिताको प्रशंसा गर्दै नर्सहरुको उचित स्याहार सुसारबाट नै बिरामी स्वस्थ हुने बताए । कुनैपनि अस्पताल सफल हुन डाक्टरहरुको जति भूमिका रहन्छ त्यत्ति नै महत्वपूर्ण भूमिका नर्सहरुको रहने चर्चा गर्दै बिरामीप्रति समर्पित नर्सहरुलाई धन्यवाद दिए ।
अन्सारीले नर्सहरुको क्षमता, दक्षता अभिबृद्धिका लागि कलेज सदैव लागि पर्ने बताउँदै नर्सहरु पनि संस्थाप्रति उत्तरदायी भएर रहन अनुरोध गरे । ‘यहाँहरुको काम, लगनशीलताबाट नै संस्था माथि उठ्ने हो । यहाँहरुको सीप विकास, क्षमता अभिबृद्धिका लागि कलेज व्यवस्थापन सदैव सकारात्मक रहनेछ ।’ अन्सारीले भने ।
सो अवसरमा कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोद कुमार क्षेत्री, हस्पिटल डाइरेक्टर डा. राजेश किशोर श्रेष्ठ, बोर्ड अफ डाइरेक्टर डा. साविया यासमिन, डाइरेक्टर जहाँगिर अन्सारी, मेट्रोन उर्मिला श्रेष्ठ लगायत नर्स, कमर्चारीहरूको सहभागिता रहेको कलेजका अस्पताल इन्चार्ज दिलिप साहले जानकारी दिए ।
'जेष्ठ नागरिक स्वास्थ्य सुरक्षा हाम्रो जिम्मेवारी' भन्ने मूल नाराका साथ ६१ औं नेपाल नर्सिङ दिवस मनाइएकाे हाे ।
0 प्रतिकृया