महिलाको योगदान नभएको भए परिवर्तन संभव थिएनः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको निम्ति, महिलाको समानताको लागि नेपालमा लामो संघर्ष र बलिदानहरु भएको बताउँदै गणतन्त्र प्राप्ति पश्चात महिलाहरुको हक अधिकार सुरक्षित हुँदै गएको बताए ।
गाउँका गरिब, दलित, पिछडिएका महिलाहरुको संघर्ष र बलिदानीकै कारण आजको उपलब्धी हासिल भएको चर्चा गर्दै महिलाहरुको योगदान नभएको भए अहिलेको उपलब्धी प्राप्त नहुने पनि बताए । महिलाको शान्ति, सुरक्षा र दिगो विकास लक्ष्य २०३० को सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशाला गोष्ठी तथा सम्मान कार्यक्रममा बोल्दै उनले भने–‘महिलाको बलिदान नभएको भए, महिलाको संघर्ष नगरेको भए, महिलाको योगदान नभएको भए आज हामी जहाँ छौं त्यहाँ आउन संभव थिएन ।’
उनले विश्वकै इतिहासमा पनि ठूलो राजनीतिक परिवर्तन र मुक्ति आन्दोलन महिलाको सहभागिता विना सफल नभएको चर्चा गर्दै संविधान सभाबाट बनाएको संविधानमा स्थानीय निकाय देखि प्रदेश र संघसम्म महिला सहभागीता सुनिश्चित गरिएको बताउँदै त्यसलाई अझै परिमार्जन गरी पुरुष सरह अधिकार र सम्मान दिन बाँकी रहेको पनि बताए ।
समाज र संस्कृति, मनोविज्ञानका कारण समान अधिकार अझै सुनिश्चित हुन नसकेको बताउँदै प्रधानमन्त्रीले अब नीति निर्माण गर्ने स्थानमा एकल महिलाहरुको सहभागीता गराउन पहल गर्ने, एकल महिलाहरुको निम्ति कोटा प्रणाली लागू गर्ने सवालमा पहल गर्नेपनि बताए ।
कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले छहारी नेपालले एकल महिलाहरुलाई समाजमा उभिएर सम्मानपूर्वक बाच्ने वातावरण बनाएको बताइन् । राज्यको तहमा महिलाहरुको उपस्थिति बढ्दै गएको बताउँदै महिला अधिकारका सवालमा अझ सशक्त ढंगले लाग्नु पर्ने बताउँदै महिला अधिकारवादी नेतृ समेत रहेकी मन्त्री चौधरीले महिला पुरुषविचको विभेद अन्त्य गर्न सबै लाग्नु पर्ने बताइन् ।
राज्यले एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता दिएर केही हदसम्म सहयोग गरेको बताउँदै चौधरीले राज्यका अङ्गहरुले सामाजिक सुरक्षा मात्र नभएर सीप विकास, आत्मनिर्भरता तर्फ डोर्याउनको लागि काम गर्नुपर्ने बताइन् । चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला अधिकार, महिला सशक्तिकरण र महिलालाई आत्मनिर्भर बनाउने सवालमा काम गरिरहेको र आफ्नो कार्यकालमा सम्झन योग्य काम गर्ने बताइन् ।
एकल महिला भएकै कारण समाजमा विभिन्न विभेदको शिकार भएका महिलाहरुको हक अधिकारका सवालमा सबैले आ–आफ्ना क्षेत्रबाट आवाज उठाउँदै समुन्नत समाज निर्माणमा टेवा दिनुपर्ने पनि मन्त्री चौधरीले बताइन् ।
0 प्रतिकृया