भक्तपुरको ठिमीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, १६ माघ । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले भक्तपुरको सानोठिमीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । केएमसीले सुर्यविनायक नगरपालिका वडा नं. ४ शंकरा नेशनल इङिलस सेकेण्डरी स्कुलसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।
केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त शिविरमा ७५३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य शिविरमा १५३ जनाको इसिजी, १९२ जनाको ल्याब परीक्षण, १८७ जनाको भिडियो एक्सरे गरिएको छ । जनरल मेनेजर दाहालले स्वास्थ्य शिविरमा ११ जनाको दाँत खोलिँदा २२ जनालाई स्वास्थ्य परीक्षण पश्चात थप उपचारका लागि ओ.टी. रेफर गरिएको जानकारी दिए ।
सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा बाल रोग, स्त्री रोग, नसा तथा हाडजोर्नी, जनरल मेडिसिन, नाक कान घाँटी, आँखा रोग लगायतका विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।
केएमसीका प्रिन्सिपल प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठले आम सर्वसाधारणलाई केएमसीको नविनतम स्वास्थ्य सेवाको जानकारी दिँदै दक्ष तथा अनुभवी चिकित्सकहरुलाई गाउँघरमै पुर्याएर सेवा दिन निःशुल्क स्वास्थ्य शिविर गरिएको बताए । तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले निःशुल्क स्वास्थ्य शिविर सुरु गरेका थिए । डा. शर्मा अहिले प्रतिनिधिसभा सदस्य छन् ।
0 प्रतिकृया