फागुन १३ मा राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता
एक्सन खबर
काठमाडौं, १६ माघ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन मितिसहित कार्यतालिका सार्वजनिक गरिएकाे छ । निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति निर्वाचनकाे कार्यतालिका सार्वजनिक गरेकाे छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आयोगले मिति तोकेको र कार्यतालिका पनि सार्वजनिक गरेको बताए । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभा सदस्यहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदाता हुन्छन् ।
सातै प्रदेशमा मतदान गर्ने गरी तयारी भए पनि अहिले सम्भव नहुने देखिएकोले काठमाडौंमै मतदान हुने गरी व्यवस्था मिलाइएको प्रवक्ता शर्माले बताए । मतदाता नामावली प्रकाशन फागुन १० गते हुनेछ । दाबी, विरोध र उजुरीका काम त्यसपछि हुनेछन् । आयोगकाे कार्यतालिका अनुसार उजुरीउपर छानबिन फागुन ११ र १२ गते हुने छ । अन्तिम मतदाता नामावली भने फागुन १२ मा हुनेछ ।
राष्ट्रपतिका लागि मनोनयन दर्ता फागुन १३ गते हुनेछ । उम्मेदवारीविरूद्ध उजुरी फागुन १४ मा दिन सकिनेछ । मतदान भने फागुन २५ गते हुनेछ । उपराष्ट्रपति चुनाव भने चैत ३ गते हुने बताइएकाे छ ।
मतदाता नामावली प्रकाशनलगायत काम राष्ट्रपति निर्वाचनकै कामलाई निरन्तरता दिइने आयोगको तयारी छ । उपराष्ट्रपतिका लागि मनोनयन दर्ता भने फागुन २७ गते हुने आयोगको कार्यतालिका छ ।
0 प्रतिकृया