नेपाल मेडिकल कलेजमा क्यान्सर सम्बन्धी सचेतना
एक्सन खबर
काठमाडौं, २० माघ । विश्व क्यान्सर दिवसको अवसरमा नेपाल मेडिकल कलेजले सचेतना कार्यक्रम गरेको छ । अत्तरखेल जोरपाटी स्थित कलेजले आज प्राङ्गणमा आयोजित सचेतना कार्यक्रममा क्यान्सर सम्बन्धी विभिन्न जानकारी मुलक सचेतना सामग्रीहरु प्रदर्शन गरेको छ ।
सचेतना कार्यक्रममा क्यान्सरका प्रकार, क्यान्सरका लक्षण, क्यान्सर परीक्षण, व्यवस्थापन र सावधानी सम्बन्धी प्रदर्शनी गरिनुका साथै अस्पतालमा आएका बिरामी, बिरामीका आफन्तलाई समेत आवश्यक जानकारी र परामर्श दिइएको कलेजका हस्पिटल इन्चार्ज दिलिप साहले जानकारी दिए ।
प्रदर्शनीमा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, फोक्सोको क्यान्सरका लक्षण, सावधानी, रोकथाम र उपचार पद्दतिका बारेमा जानकारी दिइएको थियो । कलेजको क्यान्सर युनिटको आयोजनामा भएको सचेतना प्रदर्शनीमा आइभी क्यान्सर केयरको पनि सहयोग रहेको थियो ।
कलेजले विभिन्न समय र स्वास्थ्य सम्बन्धी दिवसहरुमा स्वास्थ्य सचेतना फैलाउँदै आएको छ । पछिल्लो समय कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत गर्ने यस्ता स्वास्थ्य सचेतना मुलक कार्यक्रमबाट आम सर्वसाधारण लाभान्वित भइरहेका छन् ।
स्वास्थ्य शिक्षा र सेवामा २ दशक बढीदेखि अनवरत सेवा प्रदान गर्दै आइरहेको नेपाल मेडिकल कलेजले पछिल्लो समय गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अभिप्रायले आफ्ना सेवाहरुलाई सुधार्दै आइरहेको छ ।
0 प्रतिकृया