पाटनमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, २० माघ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको पाटनमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । केएमसीले शुक्रबार ललितपुर महानगरपालिका वडा नं.११ सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।
लाइफलाइन होम केयर सहयोगी संस्था रहेको उक्त स्वास्थ्य शिविरमा ६६३ जना सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १०९ जनाको इसिजी, १७८ जनाको ल्याब परीक्षण, १८५ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । उक्त स्वास्थ्य शिविरमा ९ जनाको दाँत पनि खोलिएको थियो भने, २८ जनालाई स्वास्थ्य परीक्षण पश्चात थप उपचारका लागि ओटी रेफर गरिएको छ ।
केएमसीका प्रिन्सिपल प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तरगत अस्पतालको स्वास्थ्य सेवालाई सर्वसाधारणको घरदैलोमै पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर गरिएको बताए । तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष समाजसेवी हाल प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका हुन् ।
२ वर्षयता केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट हज्जारौं सर्वसाधारणले प्रत्यक्ष स्वास्थ्य लाभ लिइरहेका छन् । निःशुल्क स्वास्थ्य शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, स्त्री रोग, बाल रोग, नसा तथा हाडजोर्नी लगायतका विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।
0 प्रतिकृया