सांसद डा. शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट सर्वसाधारण लाभान्वित
एक्सन खबर
मोरङ, २० माघ । प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्माको निःशुल्क एम्बुलेन्स क्याम्पबाट सर्वसाधारण जनताले लाभ लिइरहेका छन् । मोरङ निर्वाचन क्षेत्र नं. ३ का जनतालाई घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा पुर्याउँदै आएका सांसद डा. शर्माको अभियानले हज्जारौं जनता लाभान्वित भइरहेका छन् ।
यसैक्रममा शुक्रबार डा. शर्माको निःशुल्क एम्बुलेन्स क्याम्प मोरङको बेलबारी नगरपालिका वडा नं. ४ मा सञ्चालन गरिएको थियो । उक्त शिविरमा १६२ जना सर्वसाधारणले स्वास्थ्य जाँच गराएका थिए । नोबेल शिक्षण अस्पतालसँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य क्याम्पमा ४३ जनाको इसिजी, ३२ जनाको ल्याब परीक्षण, ४७ जनाको भिडियो एक्सरे तथा ५ जनाको दाँत खोलिएको नोबेलका अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा अत्याधिक मतले निर्वाचित डा. शर्माले आफ्नो क्षेत्रका जनताका लागि गाउँगाउँमा निःशुल्क स्वास्थ्य सेवा पुर्याई रहेका छन् । विगत ६ वर्षदेखि नोबेल शिक्षण अस्पतालमार्फत प्रदेश १, मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा निःशुल्क स्वास्थ्य सेवा पुर्याउँदै आइएको छ ।
स्वास्थ्य सेवा र मेडिकल शिक्षाका क्षेत्रमा केही गर्ने लक्ष्य लिएर समाजसेवा र राजनीतिमा होमिएका डा. सुनिल शर्माको अभियानलाई सार्थकता दिनकै लागि निःशुल्क स्वास्थ्य शिविरहरु नियमित रुपमा सञ्चालन गरिँदै आएको नोबेलकी प्रबन्ध निर्देशक इन्दीरा शर्माले बताइन् ।
डा. शर्माले नोबेलमै आफ्नो क्षेत्रका जनताको उपचारका लागि ५० वेडको निःशुल्क क्याविन समेत चलाईरहेका छन् । शिक्षा, स्वास्थ्य जस्ता महत्वपूर्ण कुरामा जनताको अधिकार सुनिश्चित हुनुपर्छ भन्ने डा. शर्माको मान्यता छ ।
0 प्रतिकृया