Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


सिंगो देश हाम्रो आन्दोलन र मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड

एक्सन खबर
माघ, २२, २०७९


सिंगो देश हाम्रो आन्दोलन र मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन् । आदिबासी जनजाति आयोगद्वारा शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिबासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
 
कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगहरुका बारेमा गम्भीर रुपमा छलफल पछि हामी आदिवासी, महिला, दलित, मुस्लिम लगायतका आयोग बनाउने निष्कर्षमा पुगेका हौँ । यो सानो संघर्ष र बलिदानीबाट प्राप्त भएको होइन ।’

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलूक भएकाे बताउँदै उनले सबै वर्ग, जाति र समुदायलाई समान अवसर र प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिने जिकीर गरे । ‘राज्यका सबै अंगमा समावेशी प्रतिनिधित्व भएको छ । यद्यपि, यो पूर्ण छैन । तर, यो निकै महत्वपूर्ण कुरा हो । यसलाई अझै समावेशी र पूर्ण समानुपातिक बनाउने छलफल चलि नै रहेको छ । त्यसका लागि हाम्रो प्रयास जारी रहनेछ ।‘

उनले महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख हुनुमा गर्व लागेकाे बताउँदै यो अधिकार संघर्षको परिणाम भएकाे पनि उल्लेख गरे । एकीकृत र केन्द्रिकृत राज्यले अपमान र विभेदमा पारिएका समुदायको पक्षमा लड्दै आएको जिकीर गर्दै उनले भोलि पनि लड्ने प्रतिबद्धता जनाए । ‘कुन पार्टीबाट को आए भन्ने कुरा मेरा लागि खास अर्थ राख्दैन । जुन पार्टीबाट आए पनि हाम्रो मुद्दाका कारण आउनुभएको छ, हाम्रो आन्दोलनका कारण आउनुभएको छ’ प्रधानमन्त्रीले भने, ‘सिंगो देश नै हामीले गरेको आन्दोलन र मुद्दाको वरिपरि नै छ । हाम्रो आन्दोलनको विजय भएको छ ।’

एउटा नेतृत्वले समाजको रुपान्तरणका लागि जे जस्तो संघर्ष र त्याग गर्यो, त्यसलाई सम्मान गर्न चुकेका त छैनौँ ? भन्दै उनले प्रश्न पनि गरे । विगतकाे आन्दोलनबिना जनताका मुद्दा सम्वोधन हुन सम्भव नभएकाे भन्दै प्रचण्डले तर, यसको उचित सम्मान गर्न, नेतृत्व स्थापित गर्न चुकेकाे पनि स्वीकार गरे । साथै, त्यसलाई सम्मान गर्न सकिएन भने प्राप्त उपलब्धि पनि खोसिने खतरा रहेकाे दावी गरे ।

प्रधानमन्त्रीले भने,‘उत्पीडित वर्ग दिग्भ्रमितमा पर्नु हुँदैन, त्यसो हुँदा आन्दोलनका उपलब्धि खोसिन सक्छन् । यसप्रति तपाईहरु सबै गम्भीर हुनुपर्छ । यी उपलब्धि सजिलै प्राप्त गरेको होइन । धेरै ठूलो संघर्ष र बलिदानीबाट प्राप्त भएको हो । यो कुरा एकथरि मान्छेलाई मन परेको छैन । हामीले त्यसको रक्षा र विकास गर्नुपर्छ ।’

आफुले आन्दोलनको नेतृत्व गर्दा सुरुदेखि नै आदिवासी जनजाति समुदायसँग घनिष्ठ सम्बन्ध स्थापित गर्दै आएको बताउँदै रोल्पा, रुकुम, भोजपुर, खोटाङ, गोरखा, लम्जुङ, तनहुँ, मनाङ, थारुका आधार क्षेत्र बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, मधेश भन्नुस्, आफुले उत्पीडित वर्ग र समुदायसँग एकाकार भएर नै आन्दोलनको नेतृत्व गरेको बताए । ‘केही भ्रमहरु छन् । तर, यो आन्दोलनको सच्चाइ कसैले रोकेर रोक्न सक्दैन । यो माओवादी आन्दोलनको उपलब्धि हो । हामीले विश्वभरिका आन्दोलनको कुरा गर्छौं, अधिकारको कुरा गर्छौं । तर, हाम्रै आन्दोलन र यसको नेतृत्वका बारेमा कुरा गर्न, त्यसको सम्मान गर्न हामीलाई के कुराले रोक्यो ? तसर्थ, इतिहासप्रति न्याय गर्न हामी चुक्नु हुँदैन ।’

उनले अर्थतन्त्रमा चुनौतीहरु रहेकाे चर्चा गर्दै त्यसलाई सही बाटोमा लगेर समतामूलक समाजको निर्माण गर्नु नै राष्ट्रिय एकताको आधार भएकाे,  उत्पीडितहरुको एकताले मात्र देशकाे रक्षा र जनताको अधिकारको रक्षा गर्न सकिने पनि बताए । ‘उपलब्धिको रक्षाका निम्ति राष्ट्रिय सहमति र एकता जरुरी छ । राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छ र बदल्नुपर्छ ।’ प्रधानमन्त्रीले भने ।













0 प्रतिकृया