Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


यी तीन नेताकाे अथक प्रयासमा पियूले पायाे मेडिकल कलेज सञ्चालनको अनुमति

एक्सन खबर
माघ, २४, २०७९


यी तीन नेताकाे अथक प्रयासमा पियूले पायाे मेडिकल कलेज सञ्चालनको अनुमति

मोरङ, २४ माघ । मोरङका प्रभावशाली नेताहरु डा. शेखर कोइराला, डा. सुनिल शर्मा तथा जीवन आचार्यको अथक प्रयासपछि पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको बाटो खुलेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज चलाउन कोसी अस्पताल प्रयोग गर्न दिने निर्णय गरेसँगै विश्वविद्यालयलाई १९ वर्षपछि मेडिकल कलेज सञ्चालनको बाटो खुलेको हो ।

मोरङ क्षेत्र नं. ३ र ६ का संघीय सांसदद्वय डा. कोइराला र डा. शर्मासँगै १ नं. प्रदेशका मन्त्री जीवन आचार्यको योजना र अनवरत प्रयासपछि संघीय मन्त्रिपरिषद्को बैठकले विराटनगर स्थित कोसी अस्पताललाई प्रयोगात्मक अभ्यास गर्नदिने निर्णय गरेको थियो ।

कोसी अस्पताल विराटनगरले पूर्वाञ्चल विश्वविद्यालयलाई शैक्षिक अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति गरेको ठिक एक वर्षपछि मन्त्रिपरिषद्ले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज खोल्ने योजनाले १९ वर्षपछि मुर्तरुप पाएकोमा मोरङ क्षेत्र नं. ३ र ६ का स्थानीय खुसी भएका छन् । आफ्नै गाउँघरमा मेडिकल कलेज स्थापना हुने निश्चित भएसँगै उनीहरुले सो क्षेत्रका राजनीतिककर्मीहरुको सक्रियता प्रति प्रशंसा पनि गरे । ‘डा. सुनिल शर्मा र डा. शेखर कोइरालाले मंसिर ४ गतेको निर्वाचनका दौरान यो क्षेत्रमा मेडिकल कलेज ल्याउने भनेपछि आस जागेको थियो, त्यसअघि त मेडिकल कलेज आउँछ भन्ने आसै थिएन ।’ मोरङ गोठगाउँका रविन्द्र श्रेष्ठले भने,‘सरकारले निर्णय नै गरेको सुनियो अत्यन्त खुसी लागेको छ ।’ उनले भने ।

विश्वविद्यालयले २०६२ सालयता पटकपटक मेडिकल कलेज सञ्चालनको प्रयास गरेतापनि जनान्दोलन, डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधारको आन्दोलन र राजनीतिक अस्थिरतासँगै खिचातानीले असर गरेको थियो । ८ सय ५ विगाहामा फैलिएको विश्वविद्यालयसँग भौतिक संरचना बनाउन पर्याप्त जग्गा छ ।

डा. सुनिल शर्माको सार्थक प्रयास

विश्वविद्यालयले आगामी शैक्षिक सत्रबाटै कलेज सञ्चालन गर्ने लक्ष्य लिएको छ । डा. सुनिल शर्माले प्रमुख भूमिका निर्वाह गर्दै पटकपटक विश्वविद्यालयका पदाधिकारी, राजनीतिककर्मी, सरोकारवालासँग छलफल र समन्वय गर्दै आइरहेका थिए । डा. शर्माले गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने विषयलाइ चुनाबी एजेण्डा नै बनाएका थिए ।

मेडिकल कलेज सञ्चालन गर्न ढिलाई भएपछि मोरङ क्षेत्र नं. ३ का सांसद डा. शर्माले माघ १० गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदमा भेटेर नै अनुरोध गरेपछि तत्कालै प्रधानमन्त्रीले मुख्य सचिवलाई फोन गरेर तुरुन्तै फायल अगाडी बढाउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशन पछिपनि फायल स्वास्थ्यमन्त्री कहाँ गएर रोकिएको रहेछ । गत २२ गते पुनः डा. शर्माले प्रधानमन्त्रीलाई उक्त विषय जानकारी गराएपछि प्रधानमन्त्रीले स्वास्थ्यमन्त्रीलाई फोन गर्दै निर्देशन दिए । डा. शर्माले स्वास्थ्यमन्त्रीलाई भेट गर्दै मेडिकल कलेजको फाइल अगाडी बढाउन अनुरोध गरेपछि सोहीदिन फायल अगाडी बढेर मन्त्रिपरिषद्मा पुगेको थियो ।

विश्वविद्यालयले कलेज सञ्चालनको स्वीकृति पाएसँगै फ्याकल्टी नियुक्त, पूर्वाधार निर्माणको योजनाहरु अगाडी बढाउने तयारी थालेको छ । तत्कालका लागि कोसी अस्पताललाई प्रयोगात्मक अभ्यासमा लिइने तथा क्रमिक रुपमा पूर्वाधारहरु निर्माण गर्ने लक्ष्य लिइएको छ । मेडिकल कलेज सञ्चालनका लागि तीन सय वेडको अस्पताल चाहिने चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेकाले तत्कालका लागि कोसी अस्पतालसँग सहकार्य गरिएको हो ।

त्यसो त एमविविएस सुरु गरेको २ वर्ष प्रयोगात्मक शिक्षण भन्दापनि थ्यौरिटिकल विधि हुन्छ । विश्वविद्यालयले कलेज सञ्चालनका लागि आवश्यक भौतिक संरचनासँगै उपकरण समेत तयारी अवस्थामा राखेको छ । विश्वविद्यालय रहेको गोठगाउँमा नर्सिङ, विएन, फार्मेसीलगायतको अध्यापन भने भइरहेको छ ।

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा विश्वविद्यालय स्थापना भएसँगै गोठगाउँमा आठ सय पाँच बिघा जमिन पूर्वाञ्चल विश्वविद्यालयको संरचना निर्माणका लागि छुट्याइएको छ ।

विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुनुपर्छ भनेर राष्ट्रीय सभाका सांसदद्वय रमेशजंग रायमाझी, गोपी अछामी, प्रधानमन्त्री दाहालका छोरी गंगा दाहाल र स्वकीय सचिव रमेश मल्लले समेत भूमिका निर्वाह गरेका छन् ।













0 प्रतिकृया