नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष खत्रीद्वारा पदभार ग्रहण
एक्सन खबर
काठमाडौं, २५ माघ । नेपाल इन्जिनियरिङ कलेजको सञ्चालक समितिको अध्यक्षका रुपमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पदभार ग्रहण गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा पुनर्गठन गरिएको कलेजको सञ्चालक समितिको अध्यक्षको रूपमा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख खत्रीले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि कलेजका शिक्षक, कर्मचारी, फ्याकल्टीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै सञ्चालक समितिका अध्यक्ष मेयर खत्रीले नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण नगरपालिकाको सौन्दर्य र गहनाका रुपमा रहेको बताउँदै कलेजको गरिमा बचाउन आफु लागिपर्ने बताए । ‘चाँगुनारायण नगरपालिकाको सौन्दर्य, गहना र इज्जतका रुपमा नेपाल इन्जिनियरिङ कलेज रहेको छ । यो संस्थालाई राम्ररी सञ्चालन गर्न यसको गरिमा बढाउने गरी काम गर्न हामी सबै लाग्नेछौं ।’ विगतका दिनहरुमा अनावश्यक विवादहरु बढाउने प्रयास भएको प्रति सचेत रहँदै त्यस्ता लांछना, आरोपहरुबाट मुक्त भएर काम गर्ने पनि बताए ।
कलेजसँग जोडिएका सबै पक्षलाई कुशलतापूर्वक नेतृत्व प्रदान गर्न ९ सदस्यीय टीम आएको बताउँदै उनले कलेजका समस्या र अफ्टेराहरु समाधान गर्दै उत्कृष्ट इन्ष्टिच्युटका रुपमा लिएर अगाडी बढ्ने प्रतिबद्धता जनाउँदै यसकालागि कलेजका शिक्षक, कर्मचारी, विद्यार्थी सबैबाट रचनात्मक सहयोग पाउने अपेक्षा पनि गरे । उनले बजारमा निस्केका हल्लाहरुमा भन्दापनि बौद्धिक लेवलको इन्ष्टिच्युट भएकाले तथ्यपरक र यथार्थपरक रुपमा कानुनी रुपमा, विधिवत रुपमा अगाडी बढ्नु पर्ने बताए ।
कलेजको संक्रमणकालिन अवस्थाको व्यवस्थापन गर्नका लागि सबैको बौद्धिकता लिएर उत्कृष्ट निर्णय गर्न आफुहरु सफल हुने पनि अध्यक्ष खत्रीले बताए । सर्वोच्च अदालतमा परेको मुद्दाको निचोड नआउँदा सम्म कलेजसँग संबद्ध सबैले सामुहिक र एकताबद्ध रुपमा अगाडी बढ्नु पर्नेमा अध्यक्ष खत्रीको जोड थियो । ‘सर्वोच्चमा परेको मुद्दा निचोड नआउँदासम्म तपाई हामी साझा रुपले सामुहिक रुपले एकताबद्ध रुपले विद्यार्थीको, अभिभावकको, समाजको चाँगुनारायणको शानको रुपमा कलेजलाई लिएर जान म आफु सक्रिय रुपले लाग्नेछु ।’ अध्यक्ष खत्रीले भने ।
साे अवसरमा नगरपालिकाका उपमेयर रमेश बुढाथाेकी, शिक्षा, खेलकुद तथा युवा शाखाका प्रमुख विरबहादुर खड्का, नगरपालिकाका कानुनी सल्लाहकार, कलेजका भाइस प्रिन्सिपल एशाेसिएट प्राेफेसर दुर्गा प्रसाद भण्डारी, एकेडेमिक काेअर्डिनेटर एशाेसिएट प्राेफेसर बाबुराम भट्टराई लगायत शिक्षक, कर्मचारीहरूकाे उपस्थिति रहेकाे थियाे ।
सामाजिक शैक्षिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा समेत दर्ता भई सञ्चालित कलेजको विवादमा पछिल्लो समय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चाँगुनारायण नगरपालिकाका मेयरको अध्यक्षतामा ९ सदस्यीय कलेज सञ्चालन समिति गठन गरी सञ्चालन गर्न भनेको छ । सोही अनुसार मेयर खत्रीको अध्यक्षतामा पोखरा विश्वविद्यालयका प्रतिनिधि, शिक्षक प्रतिनिधि, कर्मचारी प्रतिनिधि, स्थानीय वडा नं. १ र ४ का अध्यक्ष र सरोकारवालाहरु समेतको सदस्य राखेर सञ्चालक समिति गठन गरेको छ । समितिको सदस्यमा कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठ सदस्य सचिव रहने ब्यवस्था छ ।
0 प्रतिकृया