Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


‘लघुवित्त क्षेत्रमा नयाँ रणनीतिको खाँचो छ’ मन्त्री भगबती चौधरी

एक्सन खबर
माघ, २९, २०७९


‘लघुवित्त क्षेत्रमा नयाँ रणनीतिको खाँचो छ’ मन्त्री भगबती चौधरी

सुनसरी, २९ माघ । लघुवित्त क्षेत्रमा विद्यमान वेथितीहरु सुधार्न जरुरी रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छिन् । लघुवित्त संस्थाहरुले सिद्धान्त र नियम भन्दा बाहिर रहेर काम गर्नाले ठूलो संकट आइरहेको प्रति सजग गराउँदै लघुवित्तकर्मी समेत रहेकी मन्त्री चौधरीले नेपालमा जनसंख्याको अनुपातमा धेरै लघुवित्त संस्थाहरु रहेको पनि औल्याइन् ।

आइतबार बिराटनगरमा प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलनको उद्घाटन गर्दै मन्त्री चौधरीले भनिन्, ‘हाम्रो जनसंख्याको अनुपातमा धेरै लघुवित्तहरु भए, २५ देखि ३० वटा अथवा २० वटा लघुवित्तहरु भए हामीलाई पुग्छ । नयाँ रणनीतिको खाँचो छ ।’ मन्त्री चौधरीले भनिन् ।

राष्ट्र बैंकले तुरुन्तै लघुवित्तहरुलाई संहाल्ने गरी नीति तथा कार्यक्रम नल्याए ६ महिना पछि लघुवित्त क्षेत्रमा ठूलो संकट आउने जिकीर गर्दै मन्त्री चौधरीले मन्त्रिपरिषद्का पछिल्ला धेरै बैठकहरुमा समेत लघुवित्त, मिटर ब्याजीहरुको चर्चा र छलफल भइरहेको बताइन् । ‘लघुवित्तको वास्तविक सिद्धान्त गरिब आमा दिदिबहिनीहरुलाई आर्थिक रुपमा सवल बनाउनु हो । तर, नेपाल राष्ट्र बैंकले लघुवित्तलाई पनि बैंक तथा वित्तीय संस्थाको बाफिया एक्ट अन्तरगत राख्दा नाफा कमाउनेहरु भित्रिए । यसलाई समयमै व्यवस्थापन गर्न सकिएन भने ठूलो समस्या आइपर्छ ।’ चौधरीले भनिन् ।

लघुवित्त कार्यक्रमले लाखौं महिला दिदिबहिनीलाई सेमीउद्यमशिल बनाएको चर्चा गर्दै मन्त्री चौधरीले पैसाको कारोबार गर्दा शिक्षित र साक्षर हुनैपर्ने पनि बताइन्  ‘लघ्वित्त संस्थाहरुले वित्तिय साक्षरता दिएनन् भने माग गर्नुहोस् । तालिम लिनुहोस् अनिमात्र ऋणको सही सदुपयोग हुन्छ ।’ प्रादेशिक सम्मेलनमा सहभागी महिला उद्यमीहरुलाई संवोधन गर्दै उनले भनिन् ।

लघुवित्त क्षेत्रले १५ हजार बढीलाई प्रत्यक्ष रोजगारी सृजना गरेको, ५५ हजार बढी महिलाहरु आबद्ध परिवार लघवित्त कार्यक्रममै आश्रित रहेकाले लघुवित्त संस्थाहरुलाई बन्द गरे ग्रामिण अर्थतन्त्र र मुलुककै अर्थतन्त्रमा गम्भिर असर पुग्ने मन्त्री चौधरीको भनाई छ । ‘धेरै लघुवित्तले राम्रो काम गरेपनि केहीले गलत गर्दा समस्या आइरहेको छ । लघुवित्त क्षेत्रमा व्यापक अप्रेसन गर्न जरुरी छ ।’ मन्त्री चौधरीले अगाडी थपिन्,‘महिलाहरु उद्यमी भएका छन्, छोराछोरीहरुलाई विश्वविद्यालय, कलेजमा पढाएका छन् । साक्षर भएका छन् ।’

मन्त्री चौधरीले लघुवित्तमा डुब्लिकेसन बढ्दा नै वित्तिय जोखिम बढेकोले डुब्लिकेसन हटाउन लघुवित्तकर्मी र राष्ट्र बैंकले विशेष काम गर्नुपर्ने सुझाइन् । पछिल्लो समय लघुवित्तहरु मर्ज हुने क्रम बढेकोले केही हदसम्म समस्या निराकरणमा टेवा पुग्ने उनको भनाई छ । यद्यपि, लघुवित्त क्षेत्र सामाजिक व्यवसाय भएकाले नाफा मात्र कमाउने उद्देश्य लिएकाहरुलाई भित्राउन नहुने मन्त्री चौधरीको धारणा छ ।

सम्मेलनमा बोल्दै राष्ट्रिय लघुवित्त सम्मेलन अभियानका अध्यक्ष शंकरमान श्रेष्ठले डुब्लिकेसन भएकै कारण आज ५० प्रतिशत लघुवित्तहरु संकटमा रहेको बताए । अब व्यवसायिक बैंकहरु पनि संकटोन्मुख भइरहेको तर्फ सचेत गराउँदै श्रेष्ठले डुब्लिकेसन गर्नेहरुको लाइसेन्स नै खारेज गर्नुपर्ने उनको भनाई छ । एउटै व्यक्तिले १३ वटा लघुवित्तसँग कारोबार गरेको पाइएको बताउँदै श्रेष्ठले समस्या लघुवित्त संस्थाबाटै निम्तिएकोले समाधान पनि त्यहीबाट निकाल्नुपर्नेमा जोड दिए ।

सम्मेलनमा लघुवित्तबाट सदस्यहरुमा परेको प्रभाव, नेपालमा लघुवित्तको महत्व र आवश्यक्ताका विषयमा कार्यपत्र, अवधारणा पत्रहरु प्रस्तुत गरिएको थियो ।
















0 प्रतिकृया