लघुवित्त सम्मेलनः १४ बुँदे घाेषणापत्र जारी
एक्सन खबर
सुनसरी, ३ फागुन । लघुवित्त सेवालाई सभ्य र मर्यादित बनाउँदै गरीब र विपन्न मैत्री बनाउने तथा विपन्न समुदायको जीवनस्तर माथि उकास्ने अठोट सहित १४ बुँदे घाेषणापत्र जारी गर्दै प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन २०७९ सम्पन्न भएको छ ।
विराटनगरमा सम्पन्न उक्त सम्मेलनकाे घोषणा पत्रले “घरघरमा उद्यम फैलाऊ, गरिवीलाई शुन्य बनाऊ” भन्ने नाराका साथ अघि बढ्न हालका कमी कमजोरीलाई सुधार गर्ने, ग्राहक सदस्यलाई उद्यमी तथा उद्यमशीलता बृद्धि गर्न संस्थाहरुले स्पष्ट कार्ययोजना बनाई ठोस कार्यक्रम बनाएर लागु गर्ने, लघुवित्तका सदस्यहरुलाई ऋणको अति भारबाट जोगाउन कर्जाको आकारमा संस्था र सदस्य दुवै सजग भएर अघि बढ्ने लगायतको घोषणा गरेको छ ।
यस्तै, हरेक लघुवित्त तथा सहकारी संस्थाका कर्मचारीले सदस्यहरुसँगको भेटघाट बढाउने, फिल्डमा काम गर्ने लघुवित्त कर्मचारीको मनोवल उच्च राख्न असल कर्मचारीलाई बार्षिक रुपमा पुरस्कृत गर्ने, सदस्यहरुको समस्या गुनासो सुनुवाई इकाई स्थापना गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने भनिएकाे छ ।
हरेक लघुवित्त तथा सहकारी संस्थाका कर्मचारीहरुले सदस्यहरुसँग असल व्यवहार गर्ने, युवा वर्गलाई स्वदेशमा स्वरोजगार बन्न अभिप्रेरित गर्ने, सदस्यहरुलाई वित्तीय सेवाको अलावा वित्तीय साक्षरता र सीप विकास तालिम प्रदान गरी सक्षम बनाउने, सदस्यहरुले कर्जाको सदुपयोग गर्ने र संस्थाले सदुपयोगिताको जाँचमा प्राथमिकता दिने, सदस्यले लिएको कर्जा समयमा नै तिरी असल ऋणी बन्ने कुराहरू समेटेकाे छ ।
एक दिने सम्मेलनको उद्घाट्न महिला, वालवालिका तथा जेष्ठ नागरीक मन्त्री भगबती चौधरीले गर्दै लघुवित्त गरिबी निवारणको लागि सेवा भावले शुरु भएको गरीबी निवारण विरुद्धको अभियान भएकोले यसबाट गरीब तथा विपन्न बर्गका महिलाहरुले कर्जा सेवा लिएर उद्यमी बनी जीवनस्तर उकास्न सक्ने बताएकी थिइन् ।
जुन उद्देश्यको लागि ऋण लिएको हो सोही काममा ऋण लगानी गर्नु पर्ने मन्त्री चाैधरीले बताउँदै लघुवित्त कार्यक्रमले नेपालको महिला सशक्तिकरणको लागि महत्वपूर्ण भूमिका खेलेको भएतापनि अझै यसलाई समाजिक रुपान्तरणको लागि स्वच्छ र सेवामुखी व्यवसायको रुपमा अघि बढाउनु पर्नेमा जाेड दिइन् ।
सम्मेलनको समापन समारोहमा बोल्दै संघिय सांसद योगेन्द्र मण्डलले गरिबी निवारण र विपन्न बर्गको उत्थानको लागि नेपालको एकमात्र र प्रभावकारी कार्यक्रम लघुवित्त भएको र यसको लागि लघुवित्त गर्ने संस्था र त्यसका सदस्यहरुले यसको मुल मर्म र भावना अनुसार काम गरी लाभ लिन सक्नु पर्ने धारणा राखे ।
कार्यक्रममा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष तथा लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले केही संस्थाहरुले लघुवित्तको मुल्य मान्यता अनुरुप काम नगरी मुनाफा केन्द्रित हुदै जाँदा, सदस्यहरुको उन्नतीमा जोड नदिँदा र नियामक निकाय राष्ट्र बैंकले सही नीति नलिदा विचलनहरु आएकोले सजग रहन जाेड दिए । नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बम बहादुर मिश्रले लघुवित्तको संख्या आवश्यकता भन्दा बढी भएको कारण समस्या आएको बताउँदै लघुवित्तलाई सही बाटोमा ल्याउन नीति निर्माण तहबाट कुनै कसरी बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
सोही अवसरमा ६ जना महिलाहरुले लघुवित्तको सदस्यहरु भएपछि उद्यमी बनेर जीवनमा परिवर्तन गर्न सफल भएको सफलताका कथा सुनाएका थिए । सम्मेलनमा लघुवित्तबाट महिला तथा विपन्न वर्गमा परेको प्रभाव, लघुवित्तको मर्म तथा वित्तीय साक्षारता एवं ग्राहक संरक्षण र नेपालमा लघुवित्तको महत्व र आवश्यकताबारे छलफल भएको थियो । यसमा लघुवित्त तथा वित्तीय क्षेत्रका विषयगत विज्ञ, अध्येता, महिला सदस्य र लघुवित्तकर्मीहरु सहभागी भएका थिए । सर्वपक्षिय यिनै छलफल तथा अथितीहरुका सुझावको आधारमा सम्मेलनले १४ बुदे घोषणापत्र पारित गरेको हो ।
प्रदेश १ मा रहेका लघुवित्त वित्तीय संस्था तथा लघुवित्त गर्ने सहकारी संस्थाहरुको आयोजनामा सम्पन्न यस प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलनमा करीब दुई दर्जन लघुवित्त तथा वित्तीय संस्थाका सदस्य, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, कर्मचारी, विज्ञ लगायत अन्य सरोकारवाला हरूको सहभागिता रहेको थियो ।
0 प्रतिकृया