डा. सुनिल शर्माको एम्बुलेन्स क्याम्पबाट २६१ जना लाभान्वित
एक्सन खबर
विराटनगर, ४ फागुन । मोरङ क्षेत्र नं. ३ का सांसद डा. सुनिल शर्माले आफ्नो क्षेत्रका जनताको स्वास्थ्योपचारका लागि सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स क्याम्पबाट २६१ जना सर्वसाधारण लाभान्वित भएका छन् । मोरङको पथरी नगरपालिका वडा नं.३ आइतबारेमा आयोजित निःशुल्क एम्बुलेन्स क्याम्पमा ४१ जनाको इसिजी, ४९ जनाको ल्याब परीक्षण, ९७ जनाको भिडियो एक्सरे गरिएको छ ।
नोबेल अस्पतालका अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा ४ जनाको दाँत समेत खोलिएको छ । एम्बुलेन्स क्याम्पमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र सर्वसाधारणलाई नोबेल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरुले चेक जाँच गरेका थिए ।
सांसद डा. शर्माको व्यक्तिगत पहल र प्रयासमा सो क्षेत्रका जनताले घरदैलोमै दक्ष तथा अनुभवी चिकित्सकबाट आफ्नो स्वास्थ्य परीक्षण र उपचार पाइरहेका छन् । समाजसेवा, राजनीति र स्वास्थ्य क्षेत्रमा अनवरत काम गर्दै आइरहेका सांसद डा. शर्माले नोबेल शिक्षण अस्पतालमा सो क्षेत्रका जनताका लागि ५० वेडको निःशुल्क क्याविन वेड समेत सञ्चालन गरिदिएका छन् ।
नोबेलकी प्रबन्ध निर्देशक इन्दीरा शर्माले सांसद डा. शर्माको अभियानले हज्जारौं जनताले सेवा लिइरहेको बताउँदै निःशुल्क एम्बुलेन्स क्याम्पलाई अझ प्रभावकारी बनाएर लैजाने बताइन् । सामाजिक उत्तरदायित्व अन्तरगत गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आइरहेको नोबेलले डा. शर्माको मार्गदर्शन अनुसार सेवा प्रदान गर्ने लक्ष्य बनाएको छ ।
0 प्रतिकृया