भौतिक विकासमा गुणात्मक फड्को आवश्यक : प्रधानमन्त्री
एक्सन खबर
काठमाडौं, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकोमा खुशी व्यक्त गरेका छन् । आइतबार बिहान उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशसहितको मन्त्रालयको टोली र प्रधानमन्त्रीबीचको भेटमा उनले सो कुरा बताएका हुन् ।
विकासको विस्तार, सुधार र प्रशासनको चुस्ततामा सरकारले जोड दिएको र त्यसले छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे । “पहिलो त विकासप्रतिको बुझाइमै ठीक दृष्टिकोण बनाउन जरूरी छ” उनले भने, “त्यसका लागि ऐन–कानुनको संशोधनमा समेत सरकारको जोड रहेको छ ।”
प्रधानमन्त्रीले देशलाई विकास र समृद्धिको दिशामा लैजाने राज्यका सबै अंग र तहहरूको समन्वयात्मक भूमिका र संकल्प हुनुपर्ने बताए। “वर्तमान सरकार देशका सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढिरहेको छ । तसर्थ, विकास र समृद्धिको लक्ष्य हासिल गर्न समन्वयात्मक भूमिका र संकल्पका अघि बढौँ।” उनले भने ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनताको दैनिक जीवनसँग जोडिएका प्रश्नहरूलाई विज्ञहरू सम्मिलित कार्यदल नै बनाएर सम्बोधन पहल बढाएकोमा प्रधानमन्त्रीले सराहना गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रा.डा. सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार विकास प्रणाली सुधार कार्यदल, पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समग्र यातायातमा सुधार अध्ययन कार्यदल र प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सुशासन सुधार सुझाव कार्यदल बनाएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ, कार्यदलका संयोजकहरू र उपप्रधानमन्त्रीका सचिवालय टोलीले प्रधानमन्त्री प्रचण्डसँग भेटेको हो । उपप्रधानमन्त्री श्रेष्ठले जनतालाई तत्काल र दीर्घकालीन राहत दिँदै सामाजिक न्यायसहित विकासमा गुणात्मक फड्को मार्ने, समाजवादउन्मुख समृद्धि निर्माण गर्ने प्रधानमन्त्रीको लक्ष्यमा एकाकार भएर भौतिक पूर्वाधार एवं यातायातका क्षेत्रमा कयौं सुधारहरू थालिएको जानकारी दिए । उनले त्यसका लागि कयौं ऐन कानुनको परिमार्जनको आवश्यकतासमेत औंल्याए ।
त्यसक्रममा पूर्वाधार बिकास प्रणाली सुधार कार्यदलका संयोजक सूर्यराज आचार्य र यातायात सुधार कार्यदलका संयोजक शरदचन्द्र पौडेलले कार्यदलले कुन प्राथमिकतामा जोड दिन खोजेको छ भन्नेबारे प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङ गरेका थिए ।
0 प्रतिकृया