Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


‘अपाङ्गताका समस्या समाधानको बाटो पहिल्याइएको छ’ मन्त्री भगबती चौधरी

एक्सन खबर
फागुन, ९, २०७९


‘अपाङ्गताका समस्या समाधानको बाटो पहिल्याइएको छ’ मन्त्री भगबती चौधरी

काठमाडौं, ८ फागुन । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता, दृष्टिविहिन नागरिकको हक अधिकार कार्यान्वयन गराउन आफु प्रतिबद्ध रहेको बताउँदै चाँडै राष्ट्रिय नीति मन्त्री परिषद्बाट पारित गराउने बताएकी छिन् । संयुक्त राष्ट्र संघका अपाङ्गता सम्बन्धी विशेष प्रतिवेदक जेरार्ड क्किनसँगको भेटघाटमा मन्त्री चौधरीले राष्ट्रिय अपाङ्गता नीति बन्ने क्रममा रहेको जनाउँदै चाँडै मन्त्रिपरिषद्बाट पारित भएर कार्यान्वयनमा जाने बताएकी हुन् ।

मन्त्रालयमा भएको भेटघाटमा मन्त्री चौधरीले अपाङ्गता भएका व्यक्तिहरुको जीवन यापन, बालबालिकाहरुको शिक्षाका सवालमा सरकार जिम्मेवार रहेको जनाउँदै सरोकारवालाहरुका सल्लाह, सुझावहरु लिएर उत्कृष्ट नीति र कार्यक्रमहरु बनाउने बताइन् । ‘भर्खरै हामीले राष्ट्रीय नीति बनाएर अर्थ मन्त्रालयमा पठाएका छौं, त्यहाँबाट आएपछि मन्त्रिपरिषद्मा लगिनेछ । सरकारको राष्ट्रिय नीतिले अपाङ्गता भएका नागरिकका धेरै समस्याहरु समाधानको बाटो पहिल्याएको छ ।’ मन्त्री चौधरीले भनिन् ।

अपाङ्गता भएकाहरुलाई दिइने परिचय पत्रमा एकरुपता ल्याउने, स्थानीय, प्रदेश र संघ सरकारविच सामन्जस्यता मिलाएर शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा काम गर्ने योजना बनाइरहेको मन्त्री चौधरीले बताइन् । सरकारको योजनामा संयुक्त राष्ट्र संघको सहयोग र सहकार्य अपरिहार्य भएको बताउँदै उनले राष्ट्र संघको लक्ष्य, योजना अनुसार सरकार अगाडी बढ्न प्रतिबद्ध रहेको पनि बताइन् ।

भेटमा बोल्दै राष्ट्र संघका प्रतिनिधि जेरार्डले अपाङ्गताका क्षेत्रमा नेपालबाट भएका कार्यले संयुक्त राष्ट्र संघ पनि प्रभावित भएको बताए । नेपालको योजना, नीति र कार्यक्रमले राष्ट्र संघको लक्ष्य प्राप्तिमा पनि टेवा दिने चर्चा गर्दै नेपाल सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

जेरार्डले अपाङ्गता भएका व्यक्तिहरु शान्ति प्रकृयाका जिम्मेवार व्यक्तिहरु पनि भएकाले उनीहरुलाई राज्यले विशेष संवोधन गरेर लैजानु पर्ने बताए । साथै, उनले ग्रामिण क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि सरकारले गरेको कामको प्रसंशा पनि व्यक्त गरे । शिक्षा नै परिवर्तनको संवाहक रहेको बताउँदै जेरार्डले अपाङ्गता भएका बालबालिकाहरुको शिक्षामा पहुँच स्थापित गर्न जरुरी रहेको पनि बताए ।

भेटमा मन्त्रालयमा सचिव डिल्लीराम शर्माले संघीयता कार्यान्वयन पछि महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गताका धेरै अधिकारहरु स्थानीय सरकारमा दिइएको चर्चा गर्दै ग्रासरुटबाटै अपाङ्गताका क्षेत्रमा काम भइरहेको जानकारी दिए । भेटघाटमा नेपाल नेत्रहिन संघका केन्द्रीय अध्यक्ष नर बहादुर लिम्बु, महासचिब शुभम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
















0 प्रतिकृया