नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीलाई गोल्ड मेडल
एक्सन खबर
पोखरा, ८ फागुन । पोखरा विश्वविद्यालयको दिक्षान्त समारोहमा नेपाल इन्जिनियरिङ कलेजका एक जना विद्यार्थीले गोल्ड मेडल प्राप्त गरेका छन् । कलेजका अमितकुमार शर्माले सिभिल इन्जिनियरिङ विधामा गोल्ड मेडल प्राप्त गरेका हुन् । उनी विश्वविद्यालयको परीक्षामा सिभिलतर्फ एकमात्र कुलपति पदक प्राप्त गर्ने विद्यार्थी हुन् ।
विज्ञान तथा प्रविधि संकाय ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड मेनेजमेण्टका विद्यार्थी शर्माले ४ सिजिपिए हासिल गर्दै उक्त अवार्ड प्राप्त गर्न सफल भएका हुन् । कम्प्युटर इन्जिनियरिङमा एनसिआइटी कलेजका सिमान्त कसजुले गोल्ड मेडल प्राप्त गरे ।
कलेजका २० जना विद्यार्थीले डीन मेडल प्राप्त गरेका छन् । विश्वविद्यालयको १८ औं दिक्षान्त समारोहमा कलेजका विद्यार्थीहरुले उक्त मेडल हासिल गरेका हुन् । डीन मेडल पाउनेहरुले स्नातकाेत्तर तहको तेश्रो सेमेष्टरको परीक्षा भएको ९० दिनभित्र थेसिस सकाएको नेकका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले जानकारी दिए । ‘तेश्रो सेमेष्टरको परीक्षा सकाएको ९० दिनभित्र थेसिस बुझाउनेहरुले मात्र डीन मेडल पाउने गर्दछन् ।’ डा. श्रेष्ठले भने ।
दिक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर तहमा सबैभन्दा उच्च अङ्क प्राप्त गर्ने विद्यार्थीहरुलाई उप–कुलपति, कुलपति पदक वितरण गरिएको थियो । स्नातक तहमा विनु भट्टराईले सबैभन्दा उच्च अङ्क प्राप्त गरी उप–कुलपति पदक प्राप्त गरिन् । कुलपति पदक पाउनेहरु विभिन्न विधाका १२ जना रहेका छन् ।
समारोहमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयमा हासिल गरेको ज्ञानलाई मुलुकका उत्पादन, रोजगारी सृजना, शान्ति, स्थिरता र समग्र विकासको क्रमसँग जोड्न सक्नुपर्ने बताए । विश्वविद्यालयको कक्षाकोठामा पुस्तक अध्ययन र प्राध्यापकहरुको प्रयासबाट हासिल गरेको सैद्धान्तिक एवं व्यवहारिक ज्ञानलाई मुलुकको आर्थिक, सामाजिक र अध्ययन क्षेत्रको विकासमा लगाउनु पर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए ।
0 प्रतिकृया