नेपाल इन्जिनियरिङ कलेजमा रज्जुमार्ग सम्बन्धी प्रस्तुति
एक्सन खबर
काठमाडाैं, १० फागुन । सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा आज रज्जुमार्ग (रोपवे) सम्बन्धी प्रस्तुति गरिएको छ । रोपवे नेपालका अध्यक्ष इन्जिनियर गुणराज ढकालले नेपालमा रज्जु मार्गको सम्भाव्यता, त्यसको प्राविधिक, वित्तीय, सुरक्षा तथा वातावरणीय पक्षहरूमा विस्तृत प्रस्तुति दिए ।
कलेजका लगभग पचास जना शिक्षकहरूको उपस्थितिमा गरिएको प्रस्तुतिमा रज्जु मार्गबाट नेपालको ग्रामिण विकास तथा पर्यटनको विकासमा पुर्याउन सक्ने योगदान बारेमा छलफल भएको थियो ।
नेपालमा राणा शासकहरूले वि.सं.१९८५ सालमा धोर्सिङ्ग–मातातिर्थबीच २२.५ कि.मी दुरीमा रज्जुमार्ग निर्माण गरेकोमा पछि २००४ सालमा यस मार्गलाई काठमाडौंको टेकुसम्म पुर्याएका थिए । २०२१ सालमा रज्जुमार्गलाई ४२.१४ कि.मी. मा विस्तार गरी हेटौंडा–काठमाडौं रोपवे सञ्चालन भएको थियो । तर हाल उक्त रज्जुमार्ग बेवारिसे अवस्थामा छ ।
उक्त रज्जुमार्गलाई पुनः सञ्चालन गर्न सकिएमा इन्धन आयातमा मात्र पनि नेपालले वर्षेनी करोडौं रकम बचत गर्न सक्ने बताइएकाे छ । नेपालीहरूले आफै डिजाइन र जडान गर्न सक्ने यस प्रविधिलाई सम्बन्धित निकायबाट प्रोत्साहन भएमा यस प्रविधिले देश विकासमा राम्रो योगदान गर्न सक्ने बारेमा पनि कार्यक्रममा छलफल भएको थियो ।
कलेजको प्रगतिशील प्राध्यापक संगठनले आयोजना गरेको उक्त कार्यक्रममा संगठनका अध्यक्ष डा. दिबङ्गर खोतेजाले प्रस्तोता इन्जिनियर गुणराज ढकाललाई स्वागत गरेका थिए ।
0 प्रतिकृया