Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


आज उम्मेदवारी दर्ता, कांग्रेसबाट रामचन्द्र पाैडेल एमालेले निर्णय गर्दै

एक्सन खबर
फागुन, १३, २०७९


आज उम्मेदवारी दर्ता, कांग्रेसबाट रामचन्द्र पाैडेल एमालेले निर्णय गर्दै

काठमाडाैं, १३ फागुन । राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् भवन परिसर निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।

शर्माका अनुसार फागुन २५ गते हुने निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार बन्न पाँच/पाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रपति पदको निर्वाचनका लागि यही फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

नेपाली कांग्रेसबाट बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्ने पक्कापक्की भएपनि नेकपा एमालेले निर्णय गरिसकेकाे छैन । एमालेकाे सचिवालय बैठक आजै बस्दैछ ।

राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । राष्ट्रपति निर्वाचनको मतदाताको सङ्ख्या सङ्घीय संसद्को तीन सय ३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ ।

सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । सङ्घीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति मात्र राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन् ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ । राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा सङ्घीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ ।

विगतका अरू निर्वाचनका तुलनामा यो निर्वाचन अझ स्वच्छ, स्वतन्त्र, निष्पक्ष,  मर्यादित र व्यवस्थित ढङ्गले सम्पन्न हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । ‘निर्वाचनका सबै प्रक्रिया पूरा गरेरपछि यहाँ कायम गरिएको दुई मतदान केन्द्रमा यही फागुन २५ गते १० देखि ३ बजेसम्म मतदान हुनेछ। सोही दिन साँझ ७ बजेभित्र मत परिणाम प्रकाशित गरिसक्ने आन्तरिक तयारी गरिएको छ ।’ उनले भने ।













0 प्रतिकृया