राष्ट्रपतिमा नेम्वाङ र पाैडेल आमने सामने
एक्सन खबर
काठमाडौं, १३ फागुन । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिष्पर्धा गर्ने भएका छन् । शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा नेम्वाङ र पाैडेलकाे मनाेनयन दर्ता भएकाे छ ।
एमाले उपाध्यक्ष नेम्बाङको प्रस्तावकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन् । समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी थापा (रावल) र अमनकुमार मास्के रहेका छन् ।
यता पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोक राई र जनमत पार्टीका नेता अब्दुल खाँ रहेका छन् ।
पाैडेलकाे समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन् ।
नेम्वाङलाई नेकपा एमालेकाे मात्र साथ रहँदा पौडेललाई नेपाली कांग्रेससँगै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।
राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेपछि पौडेलले चुनाव हुने दिन २५ फागुनसम्म आफूलाई एमालेले पनि समर्थन गर्ने विश्वास व्यक्त गरे । भने, उम्मेदवारी दर्तापछि नेता नेम्वाङले पनि आफू नै राष्ट्रिय सहमतिको उम्मेदवार बन्न सक्ने बताए । स्मरण रहाेस् राष्ट्रपतिका यी दुई उम्मेदवार पूर्व सभामुख हुन् ।
रामचन्द्र पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख हुँदा सुवासचन्द्र नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म संविधानसभा अध्यक्षकाे भूमिका निर्वाह गरेका थिए । त्यस्तै उनले दाेश्राे संविधानसभाकाे दाेश्राे कार्यकाल २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म पनि सभामुख भएर संसदको नेतृत्व गरेका थिए ।
कांग्रेस उम्मेदवार पौडेललाई सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसहित ८ दलको साथ छ । उनलाई कांग्रेसका साथै माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ हुँदा नेम्वाङलाई एमालेकाे काम साथ छ । १० पुसमा भएको सहमतिअनुसार नै नेम्बाङलाई उम्मेदवार बनाएकाले त्यो बेला एक ठाउँमा भएका दलहरुको समर्थन पाउने एमाले नेताहरूकाे विश्वास छ ।
२००१ असोज २९ गते तनहुँको मिर्लुङ, बाहुनपोखरामा मध्यमवर्गीय किसान परिवारमा जन्मिएका पौडेल काठमाडौंको बोहोराटारमा बस्दै आएका छन् । उनी नेपाली साहित्य, शास्त्री (संस्कृत) मा स्नाताकोत्तर हुन् ।
२००९ साल फागुन २८ गते इलामको सुन्तलाबारीमा जन्मिएका सुवास नेम्बाङ काठमाडौंको बालुवाटारमा बस्दै आएका छन् । उनी कानुनका प्राध्यापकसमेत थिए । प्रध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका उनी नेपाल बार एसोसिएसनको महासचिव पनि भएका थिए ।
संसदीय राजनीतिमा पौडेल र नेम्बाङले २०४७ पछिका आम निर्वाचनमा भाग लिँदै आएका छन् । पौडेल २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९ सालको चुनावमा तनहुँबाट निर्वाचित हुँदा ०७४ सालमा भने पराजित भएका थिए । एमालेका नेम्बाङ २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलामबाट निर्वाचित भएका थिए ।
0 प्रतिकृया