सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सत्ताबाट बाहिरियाे एमाले
एक्सन खबर
काठमाडौं, १५ फागुन । प्रचण्ड नेतृत्वकाे सरकारलाई दिएकाे समर्थन समेत फिर्ता लिएर नेकपा एमाले सरकारबाट बाहिरिएकाे छ । एमालेका मन्त्रीहरुले साेमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन् । एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै एमालेका मन्त्रीहरु बालुवाटार पुगेर प्रधानमन्त्रीलाई राजीनामा बुझाए ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलकाे नेतृत्वमा ८ जना मन्त्री बनेका थिए । पौडेल पुस ११ मा उपप्रधानमन्त्री तथा अर्थमन्त्री नियुक्त भएका थिए भने अन्य मन्त्रीहरुले माघ पहिलो साता शपथ लिएका थिए । कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राई, परराष्ट्रमन्त्री विमला राई पौड्याल, महिला बालबालिका तथा समाजकल्याणमन्त्री भगवती चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र रक्षामन्त्री हरि उप्रेतीले माघ ३ गते सपथ लिएका थिए ।
पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले प्रधानमन्त्री दाहालले नेकपा एमाले र एमालेले प्रतिनिधित्व गरेका मन्त्रीहरूप्रति गरेको व्यवहार र टिप्पणीका कारण आफूहरू सरकारबाट बाहिरिन बाध्य भएको बताए । ‘राष्ट्रपतिको निर्वाचनमा सहमति नभए पनि सरकारलाई सहयोग गरेर काम गर्ने सोचमा हामी थियौँ । तर पछिल्ला दिनमा प्रधानमन्त्रीज्यूले नेकपा एमाले र एमालेबाट प्रतिनिधित्व गर्नु भएको मन्त्रीप्रति गरेको अभिव्यक्ति र व्यवहारले गर्दा हामी सरकार छाड्ने निर्णयमा पुग्यौँ ।’ उनले भने ।
आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारबाट बाहिरिएको थियो । राजनीतिक परिस्थिति परिवर्तन भएको भन्दै राप्रपाबाट उप प्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले राजीनामा दिएका थिए । त्यसैगरी उर्जा राज्यमन्त्री दीपक सिंहले पनि राजीनामा दिएका थिए ।
त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २ मन्त्री र १ राज्यमन्त्रीले सरकार छाडेका थिए । नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलापछि तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएपछि गृह मन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरिएकाे थियाे । रास्वपाबाट गृहमन्त्री लामिछानेसँगै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा दिएका थिए ।
0 प्रतिकृया