Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


प्रधानमन्त्री प्रचण्डको काँधमा कति मन्त्रालय ?

एक्सन खबर
फागुन, १६, २०७९


प्रधानमन्त्री प्रचण्डको काँधमा कति मन्त्रालय ?

काठमाडाैं, १६ फागुन । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा नेपाल सरकारबाटब बाहिरिएसैगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे काँधमा १६ मन्त्रालयकाे जिम्मेवारी आएको छ । हिजाे साेमबार मात्र नेकपा एमालेका मन्त्रीहरूले राजिनामा दिएसँगै प्रचण्डकाे काँधमा १६ मन्त्रालयकाे जिम्मेवारी आइपरेकाे हाे ।

फागुन २५ गते राष्ट्रपति, उपराष्ट्रपतिकाे निर्वाचन सम्पन्न भएपछि मात्र मन्त्रि मण्डल विस्तार हुने भएकाले थप मन्त्रालयहरूकाे जिम्मा प्रचण्डकाे हातमा परेकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई तोकेकी छन् ।

सोमबार बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय लिएको थियो । एमालेले उपप्रधान सहित अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालय लिएको थियो । उक्त मन्त्रालयको जिम्मा अहिले प्रधानमन्त्री प्रचण्डमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएसँगै ऊर्जा, सहरी विकास र कानून मन्त्रालय पनि प्रचण्डकाे काँधमा परेकाे छ । त्यसअघि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले लिएकाे गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पनि उनकाे काँधमा छ ।

गत माघ ३ गते मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्रीले वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय आफैंसँग राखेका थिए । जनता समाजवादी पार्टीलाई दिन भन्दै उक्त मन्त्रालय खालि राखिए पनि जसपा सरकारमा सहभागी भएन ।

गत शुक्रबार राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई सहयोग गर्ने ८ दलबीच सहमति बने पछि एमालेले सरकारलाइ दिएकाे समर्थन समेत फिर्ता लिँदै सरकार छाडेकाे हाे । गत पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा राष्ट्रपति एमालेलाई दिने समझदारी बनेको थियो। तर प्रचण्ड उक्त सहमतिबाट पछि हटेको भन्दै एमालेले सरकार छाडेको हो ।

पुस २६ गते प्रचण्डलाई विश्वासको मत दिएकामध्ये एमाले र राप्रपाले सरकार छाडेकाले एक महिनाभित्र प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।


प्रधानमन्त्रीकाे काँधमा रहेका मन्त्रालयहरू
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
गृह मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
सहरी विकास मन्त्रालय
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
अर्थ मन्त्रालय
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
परराष्ट्र मन्त्रालय
स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्रालय
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
रक्षा मन्त्रालय













0 प्रतिकृया