प्रदेश–१ काे नाम अब ‘काेशी प्रदेश’
एक्सन खबर
सुनसरी, १७ फागुन । अन्नतः संघीयता लागू भएपछि निर्वाचित दाेश्राे प्रदेश संसदले प्रदेश १ काे नामाकरण गर्न सफल भएकाे छ । ०७४ सालकाे प्रदेश सभाले गर्न नसकेकाे नामाकरण गत मंसिर ४ गते सम्पन्न निर्वाचित प्रदेश सभाले पुरा गरेकाे हाे ।
प्रदेश १ को प्रदेशसभाले प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव दुइ तिहाइले पारित गरेको छ । प्रदेशको नाम अब ‘कोशी प्रदेश’ रहने भएको छ । आज भएको मत विभाजनमा ‘काेशी प्रदेश’का पक्षमा ८२ मत पर्दा विपक्षमा मात्र ४ मत परेको थियो ।
नेकपा एमाले सांसद रामबहादुर रानामगर प्रस्तावक, एमालेकै निरन राई र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर प्रदेशको नाम 'कोशी प्रदेश' राख्न प्रस्ताव दर्ता गराएका थिए । तर पछि राजवंशीले आफ्नो समर्थन फिर्ता लिएको निवेदन प्रदेशसभा सचिवालयमा दिएका थिए ।
उनले समर्थन फिर्ता लिए पनि कांग्रेससँगै माओवादी केन्द्रले समेत कोशी प्रदेशमा सहमति जनाएपछि प्रदेशसभाबाट उक्त नाम दुइ तिहाइले पारित भएको हो । नेकपा एस र जसपाले भने प्रदेशको नाम 'किराँत, लिम्बूवान सगरमाथा प्रदेश' राख्नुपर्ने प्रस्ताव गरेका थिए ।
नेकपा एमालेले प्रस्ताव गरेको 'कोशी प्रदेश' लाई सदनमा स्वीकृत गरेपछि पूर्वमुख्यमन्त्री समेत रहेका राजेन्द्र राईले पेस गरेको 'किराँत लिम्बुवान सगरमाथा प्रदेश' अस्वीकृत भयाे । बुधबारको बैठकमा एमालेका ४०, कांग्रेसका २७, माओवादीका ११, राप्रपाका ५, एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद बैठकमा सहभागी भएका थिए । कांग्रेसका २ र नेकपा माओवादी केन्द्रका एक जना सांसद अनुपस्थित भए ।
स्वास्थ्य मन्त्री रहेकी जसपा सांसद निर्मला लिम्बु आफ्नो प्रस्ताव अस्वीकृत भएपछि रोष्ट्रममै उभिएर रोएकी थिइन् । २०७४ को चुनावपछि प्रदेशसभाको पहिलो कार्यकाल सकिँदा समेत प्रदेश–१ ले नामाकरण गर्न सकेको थिएन । प्रदेश–१ मा तीन मुख्यमन्त्री फेरिदा पनि पहिलो कार्यकालको प्रदेशसभाबाट नामाकरण टुंगिएकाे थिएन ।
प्रदेश सभाले नामाकरण गरेपछि भाेली काेशी प्रदेशमा सार्वजनिक विदा दिइएकाे छ ।
0 प्रतिकृया