राष्ट्रपतिमा सुवास नेम्वाङकाे लागि मत माग्न एमाले नेताहरू रास्वपा र राप्रपा कार्यालयमा
एक्सन खबर
काठमाडाैं, १८ फागुन । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा नेपालका पदाधिकारीहरूसँग भेटवार्ता गर्दै मत मागेका छन् । एमाले सचिव याेगेश कुमार भट्टराई, पृथ्वी सुब्बा गुरूङ, भगबती चाैधरी, विद्या न्याैपाने, ठाकुर गैरे लगायतकाे टाेलीले रास्वपा सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन सहितकाे पदाधिकारीसँग भेटवार्ता गर्दै मत मागेकाे हाे ।
बिहीबार रास्वपाकाे पार्टी कार्यालयमा सभापति लामिछाने सँगकाे भेटमा एमाले नेताहरूले देश र जनताकाे साझा व्यक्तित्वका रूपमा नेम्वाङ याेग्य उम्मेदवार रहेकाे बताए । भेटमा बाेल्दै एमाले सचिव योगेशकुमार भट्टराईले २ वटा संविधान सभाकाे अध्यक्ष भइसकेकाे र संविधानकाे मर्म बुझेकाे व्यक्ति नेम्वाङ रहेकाे बताउँदै निर्वाचनमा सहयाेग गर्न अनुराेध गरे । ‘उहाँ जत्तिको याेग्य मान्छे मुलुकले कमै पाउँछ यो एउटा मौका हो । विगतमा उहाँले संविधान लेखन, संविधानसभा सञ्चालनमा निर्वाह गर्नु भएकाे भूमिकाले नै उहाँलाई त्याे पदमा याेग्य बनाएकाे छ ।’ भट्टराईले भने ।
पार्टीका प्रचारप्रसार सचिव पृथ्वी सुब्बा गुरुङले राष्ट्रियताका सवालमा सबैलाई एकसुत्रमा बाँध्ने क्षमता सुवास नेम्वाङसँग मात्र रहेको बताउँदै लोकतन्त्र, संविधान र राष्ट्रियताका सवालमा दलहरु एकै स्थानमा आउन अपरिहार्य रहेको बताए ।
राष्ट्रपतिका उम्मेदवार नेम्वाङले सबैकाे साझा उम्मेदवार बनेर देखाउने बताए । उनले राष्ट्रपति सडकमा निस्कँदा जनताले दुखः नपाउने हुनुपर्ने भन्दै भने–‘राष्ट्रपति शितल निवासबाट सडकमा निस्कँदा सडक अवरूद्ध हुनुहुन्न, आकाशमा उड्दा समस्या हुनुहुन्न । म सबैकाे साझा भएर रहनेछु ।’ उम्मेद्वार नेम्वाङले भने ।
भेटमा एमाले नेतृ भगबती चौधरीले नेम्वाङ सालिन र सबैलाई सम्मान गर्न सक्ने व्यक्तित्व रहेको र सबैलाई मिलाएर लैजान सक्ने खुबी भएकाले पार्टी भन्दा माथि उठेर राष्ट्रपतिको गरिमा राख्नसक्ने बताइन् । एमालेको उम्मेदवार भएपनि नेम्वाङ सबैको साझा उम्मेदवार हुनेमा विस्वस्त रहन भनिन् । पार्टीले राष्ट्रपतिको उम्मेदवार घोषणा गर्न ढिलाई गरेतापनि सुयोग्य पात्र छनौट गरेको बताउँदै मत दिन आग्रह गरिन् ।
रास्वपाका सभापति रवि लामिछानेले सुवास नेम्वाङ राष्ट्रपतिका लागि याेग्य उम्मेद्वार भएकाे बताउँदै राष्ट्रपति उम्मेद्वारका सवालमा पार्टीको आन्तरिक छलफलबाट निर्णय गरिने बताए । ‘तपाईले मुलुकमा शान्ति स्थापना, संविधान निर्माण, लाेकतन्त्रकाे रक्षामा खेल्नु भएकाे अभिभावकीय भूमिकाकाे हामीले कदर गर्नैपर्छ । तपाई दलकाे नेताभन्दा माथि पुगिसक्नु भएकाे छ, यद्यपि, राष्ट्रपतिकाे उम्मेदवारका सवालमा हामी आन्तरिक छलफल पछि निर्णय लिनेछाैं ।’ लामिछानेले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले सुवास नेम्वाङ एउटा उपयुक्त पात्र भएकाेमा कुनै शंका नरहेकाे बताँउदै केन्द्रीय समिति र संसदीय दलको बैठकबाट निर्णय गरिने बताए ।
यस्तै, राष्ट्रपतिका उम्मेदवार रहेका नेता नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि भेटेर आफूलाई मतदान गर्न आग्रह गरेका छन् । राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर उनी लगायतकाे टाेलीले आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आफूलाई मतदान गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई आग्रह गरेका हुन् ।
भेटघाटमा राप्रपाको तर्फबाट अध्यक्ष लिङ्देनसहित नेताहरू डा. प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, धवलसमशेर राणा लगायतको उपस्थिति थियो । भेटघाटपछि बाेल्दै राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले नेम्वाङ सहितकाे टाेलीले मत मागेकाे बताए । राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्नेभन्ने कुरा फागुन २४ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने बताए ।
0 प्रतिकृया