१२ चैत्रबाट इन्जिनियरिङ लाइसेन्स परीक्षा (सूचना सहित)
एक्सन खबर
काठमाडाैं, १९ फागुन । नेपाल इन्जिनियरिङ परिषद्ले साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता गर्न परीक्षा चैत्र १२ गतेदेखि गर्ने भएको छ । गत माघ २६ गते गतेसम्म परिषद्मा आवेदन फारम बुझाउने इन्जिनियरहरुको लाइसेन्स परीक्षा चैत्र १२ बाट हुने परिषद्ले जनाएको छ ।
परिषद्ले आज शुक्रबार सूचना प्रकाशित गर्दै नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ (पहिलो संसोधन ऐन २०७९) अनुसार परीक्षा लिने जनाएको छ । इन्जिनियरहरुलाई नियमन, अनुगमन र उनीहरुको दक्षता मापन गर्नका लागि परिषद्ले परीक्षा लिन लागेको हो ।
इन्जिनियरिङ पास गरेपनि परिषद्को लाइसेन्स परीक्षा पास नगर्ने इन्जिनियरले काम गर्न पाउने छैनन् । लोकसेवाको परीक्षा दिन, कुनैपनि व्यवसायिक क्षेत्रमा काम गर्न परिषद्को परीक्षा दिनैपर्ने व्यवस्था छ । कुनै इन्जिनियरले परिषद्को परीक्षा पास नगरीकन काम गरेको पाइएमा त्यस्ता इन्जिनियरलाई कारवाही गर्ने, नसिहत दिने अधिकार परिषद्सँग छ ।
इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान ऐनमै राखिएको छ । डाक्टर, नर्स, वकिल, शिक्षक जस्तै इन्जिनियरहरुले लाइसेन्स परीक्षा उतीर्ण गरेपछि मात्रै इन्जिनियरिङ पेसामा प्रवेश गर्न लाइसेन्स पाउने प्रावधान सहित विधेयक पारित भएको थियो ।
0 प्रतिकृया