Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


युएई माथि महत्वपूर्ण जित निकाल्दै नेपाल पाँचाै स्थानमा

एक्सन खबर
फागुन, २२, २०७९


युएई माथि महत्वपूर्ण जित निकाल्दै नेपाल पाँचाै स्थानमा

काठमाडाैं, २२ फागुन । युएईलाइ उसकै घरेलु मैदानमा पराजित गर्दै आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले महत्वपूर्ण जीत निकालेकाे छ । युएई र पपुवा न्युगिनी (पिएनजी) बीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई ४२ रनले पराजित गरेकाे हाे ।

नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएई ४५ ओभरमा १८७ रनमा अलआउट हुँदा युएईका लागि ओपनिङ ब्याट्सम्यान आसिफ खानले ८२ रन जोडे । ४२ ओभरमा सातौं विकेटको रुपमा दिपेन्द्रसिंह ऐरीले खानलाइ आउट गरे । युएइका लागि आर्यन लक्राले ५० र वृत्य अरविन्दले १३ रन बनाए । युएईका अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जाेड्न सकेनन् ।

बलिङमा नेपालका सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले ३-३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । टस जितेर पहिले ब्याटिङ राेजेकाे नेपालकाे सुरूवाती प्रदर्शन खराब रह्याे । तथापि, नेपालका लागि भीम सार्कीले उत्कृष्ट प्रदर्शन गर्दै ७० रन बनाए ।

पाँचौं नम्बरमा ब्याटिङका लागि आएका सार्कीले ९९ बल खेल्दै ७ चौकासहित ७० रन बनाए । उनी ४३ औं ओभरको तेस्रो बलमा रोहन मुस्ताफाको बलमा बोल्ड  भए । त्यस अगाडि सन्दीप लामिछानेसँग ५६ रन र आरिफ शेखसँग ५६ रनको साझेदारी गरे ।

खेलमा कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७ रन बनाउँदा करण केसीले ११ बलमा १७ रन बनाए । ज्ञानेन्द्र मल्ल ११, आरिफ शेख ६, रोहित पौडेल १ र दीपेन्द्र सिंह ऐरीले ४ रन बनाउँदा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै नेपालले २२९ रन बनाउन सफल भयाे । आरिफ शेखले नटआउट ४३ रन बनाउँदा प्रतिश जिसीले नटआउट ११ रन बनाए ।

बलिङमा युएईका जुनइद सिद्धिकीले ३ विकेट लिँदा रोहान मुस्ताफा र आर्यान लक्राले २-२ विकेट लिए ।

नेपाल, युएई र पपुवा न्युगिनीबीच अब नेपालमा फागुन २५ देखि लिग-२ को अन्तिम सिरिज हुँदैछ । लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ । यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ ।

लिगमा पाँचौ स्थानको उक्लिएको नेपालले ३२ खेलबाट ३२ अंक जोडेको छ। युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा झरेको छ । पुछारको ‍पिएनजीको ३२ खेलबाट ९ अंक छ । लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ । स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन् ।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ । अब नेपालले लिग-२ को शीर्ष तीन स्थानमा पुग्न बाँकी रहेका चार खेलबाट जित हासिल गर्दा एकदिवसीय मान्यता जोगाउन २ खेलमा जित निकाल्नु पर्छ ।

जीतसँगै नेपालले लिग-२ को अंक तालिकामा युएईलाई पछि पार्दा एकदिवसीय मान्यता लिग-२ बाटै जोगाउने र विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायम राखेको छ । अब नेपालले घरेलु मैदानमा हुने सिरिजका चार मध्ये दुई खेलमा जित हात पारे एकदिवसीय मान्यता जोगाउनेछ भने चारै खेल जिते विश्वकप छनोटमा पुग्नेछ ।
















0 प्रतिकृया