Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


प्रचण्ड विरूद्धकाे मुद्दा शान्ति सम्झौता विपरीत

एक्सन खबर
फागुन, २३, २०७९


प्रचण्ड विरूद्धकाे मुद्दा शान्ति सम्झौता विपरीत

काठमाडाैं, २३ फागुन । दश वर्षे सशष्त्र द्वन्द्वमा एकै समुहमा रहेका तर, शान्ति प्रकृयामा आएपछि छिन्नभिन्न भएकाहरू प्रधानमन्त्री प्रचण्डकाे विषयमा सर्वाेच्च अदालतमा मुद्दा दायर भएपछि साे विरूद्ध एक स्थानमा उभिएका छन् । माओवादी धारका ८ दलहरूले प्रधानमन्त्री समेत रहेका प्रचण्ड विरूद्धकाे मुद्दा शान्ति सम्झौता विपरीतका गतिविधि भएकाे ठहर गर्दै प्रतिवाद गर्ने निर्णय गरे ।

मंगलबार बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको ८ दलको बैठकले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरूको प्रतिवाद गर्न एकमत भएकाे जनाएका छन् । संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनीहरूले शान्ति प्रक्रियासँग जोडिएका विषयहरू विस्तृत् शान्ति सम्झौताको भावना र मर्मअनुरूप व्यवस्थापन गरिनुपर्ने बताएका छन् ।

‘संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् अगाडि बढाइनुपर्दछ । संक्रमणकालीन न्यायको प्रक्रियाविपरीतका काम कारबाहीहरूले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुर्‍याउँदैन भन्ने कुरामा समेत हामी स्पष्ट छौँ,’ उनीहरूले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूविरुद्धको मुद्दा रहस्यमय रहेको बताउँदै यसमा आन्तरिक तथा बाहिरी षड्यन्त्र रहेको समेत दाबी गरेका थिए । ‘शान्ति सम्झौताको एकजना हस्ताक्षरकर्ता विरुद्ध किन आयो भन्ने कुरा रहस्यमय छ । यो षड्यन्त्रकारी हो । यो खेल चाहिँ बाहिरका साम्राज्यवादीहरुले पनि गरेका छन् ।’ प्रचण्डले बैठकमा बाेलेकाे कुरा उदृत गर्दै एक नेताले बताए ।

रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले यसअघि द्वन्द्वकालीन घटनाको अभियोगमा प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै रिट लिएर सर्वोच्च जाँदा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिट सर्वोच्चकै आदेश अनुसार मंगलबार दर्ता भएको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीलगायत सहभागी थिए ।













0 प्रतिकृया