महिला आन्दोलनबाट प्राप्त उपलब्धिबाट गर्व गर्नुपर्छः अध्यक्ष ओली
एक्सन खबर
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको महिला आन्दोलनबाट प्राप्त उपलब्धिबाट गर्व गर्नुपर्ने बताएका छन् । ११३औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा महिला अधिकारका सम्बन्धमा गौरव गर्नुपर्ने कामहरू भएको बताए ।
अध्यक्ष ओलीले महिलालाई सामाजिकरूपमा अगाडि बढाउने सन्दर्भमा दुनियाँले नगरेको प्रगति नेपालले गरेकाे जिकीर गरे । नेकपा (एमाले) को सरकारका कार्यकालमा सामाजिक न्याय, समानता, महिला सशक्तीकरण र जागरणको क्षेत्रमा अत्यन्तै सजगताका साथ काम भएको बताए ।
उनले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा महिला प्रतिनिधित्व सुनिश्चित गरिएको मात्र नभई राज्यको विभिन्न अङ्ग र राष्ट्रपतिसमेत महिला आन्दोलनकी नेतृलाई पाउनु गर्वको विषय भएकाे बताए । राणाशासनदेखि नै नेपाली महिलाले अत्यन्तै साहसका साथ विरोधमा उत्रिएको प्रसङ्ग राख्दै अब महिला सशक्तीकरणमा जोड दिनुपर्ने उनकाे भनाइ छ । ‘अबको आन्दोेलन बराबर हक अधिकार र महिलाले हरेक दिन खुशी, सुरक्षित र सम्मानित छु भन्ने अवस्था सिर्जना गरी प्रत्येक दिन मार्च ८ तुल्य हुनुपर्छ ।’ ओलीले भने ।
नेकपा (एमाले) को अस्तित्व समाप्त पार्न लागेको अवस्थामा अहिलेको स्थितिमा ल्याउनमा महिला दिदीबहिनीको योगदान असाधारण रहेको बताउँदै महिला योगदान र गौरवपूर्ण इतिहासको प्रशंसा गरे ।
यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताए । राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको उल्लेख गर्दै अध्यक्ष ओलीले उनको यस खालको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाहरूको लागि गर्वको विषय भएको बताए ।
अध्यक्ष ओलीले महिलाहरू अब प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताए ।
0 प्रतिकृया