मुलुककाे तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु
एक्सन खबर
काठमाडौं, २५ फागुन । मुलुककाे तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।संघीय संसद भवन नयाँबानेश्वरमा १० बजेबाट मतदान सुरु भएको हो ।
राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।
नेपाली कांग्रेस गठबन्धनका रामचन्द्र पाैडेल मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेकाले मतदान गरिसकेका छन् । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रै मतगणना हुनेछ । मतपरिणाम आजै बेलुका ७ बजेभित्र सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिएका छन् । दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएकाे छ ।
संघिय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) र प्रदेश सभा सदस्यले राष्ट्रपतिमा मत दिन्छन् । संघिय सांसदकाे मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मत जोड्दा ५२ हजार ७८६ हुन्छ । राष्ट्रपतिमा निर्वाचित हुन बहुमत अर्थात् २६ हजार ३९४ मतभार चाहिन्छ ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा व्यवस्था छ ।
0 प्रतिकृया