Follow us:


Follow us

१२ कार्तिक २०८३, बुधवार
१२ कार्तिक २०८३, बुधवार


नेपाल मेडिकल कलेज २८ वर्षमा: सुधारिँदैछ सेवाहरु

एक्सन खबर
फागुन, २५, २०७९


नेपाल मेडिकल कलेज २८ वर्षमा: सुधारिँदैछ सेवाहरु

काठमाडौं, २५ फागुन । नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश गरेको छ । २०५३ सालमा मेडिकल शिक्षा र स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना भएको कलेज आजबाट २७ वर्ष पुरा गरी २८ औं वर्षमा प्रवेश गरेको हो ।

२७ औं वार्षिकोत्सवको अवसरमा कलेजका अध्यक्ष डा. भोला रिजालले नयाँ झण्डोत्तलन गर्दै नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा कलेजले महत्वपूर्ण योगदान दिएको बताए । तत्कालिन कलेज संस्थापकहरुले नाफा कमाउन भन्दापनि देश र जनताका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य लिएर सेवाको भावनाले कलेज स्थापना गरेको बताए ।

नेपाल मेडिकल कलेज वि.सं २०५३ सालमा स्वर्गीयत्रय डा. सच्चेकुमार पहाडी, प्रा.डा. दीपक भट्टराई, प्रा.डा.अञ्जनी कुमार शर्मा तथा डा. आनन्द प्रसाद श्रेष्ठ, रामरत्न उपाध्याय, डा. भोला रिजाल लगायतको समुहले स्थापना गरेका हुन् । तर, पछिल्लो समय कलेजमा विरगञ्जका सफल व्यवसायी बसरुद्धिन अन्सारी र उनको समुहको प्रवेश भएको छ ।

कलेजमा एमविविएस, विडिएस, विएस्सी नर्सिङ, पिजी कार्यक्रम सञ्चालनमा रहेका छन् । स्वास्थ्य सेवातर्फ दक्ष तथा अनुभवी जनशक्तिद्वारा सबै प्रकारका सेवाहरु दिइरहेको कलेजका अस्पताल इन्चार्ज दीलिप साहले बताए ।

स्थापनाको दुई दशकसम्म देशकै उत्कृष्ट शैक्षिक संस्थाको मानक बनाएको कलेज २०७२ सालको भूकम्पपछि लगानीकर्ताहरु विच नै मनमुटाव भएर अस्तब्यस्त हुँदै गएको थियो । स्वास्थ्य सेवा र मेडिकल शिक्षाको गुणस्तरीयता नै खस्कँदै जाँदा कलेज कोभिड १९ को महामारीका बेला बन्द हुने अवस्थामा पुगेको थियो ।

यसैविच कलेजका लगानीकर्ताहरुले नयाँ लगानीकर्ता भित्राएर नयाँ व्यवस्थापनमा कलेज चलाउने रणनीति अपनाउँदै अन्सारीलाई भित्राएका हुन् । नेशनल मेडिकल कलेजको कूशल व्यवस्थापन गर्दै आइरहेका अनुभवी अन्सारीले नेपाल मेडिकल कलेजको बहुमत शेयर खरिद गर्दै धरासायी भएको कलेजलाई पुनः नयाँ शिराबाट उठाउने हिम्मत गरेर नयाँ लगानी गरे । अन्सारीको लगानी र कुशल व्यवस्थापनमा परेपछि कलेजको व्यवस्थापन सुदृढ मात्र भएको छैन । केही महिना अगाडी कलेजको साधारण सभामा प्रस्तुत प्रगति विवरण अनुसार शिक्षा, स्वास्थ्य सेवा र कलेजको आर्थिक अवस्था समेत सुदृढ भएको देखिएको थियो ।

अन्सारीले सुरुका दिनमै कलेजको व्यवस्थापनलाई सुधार गरे । लामो समय तलब सुविधा नपाएर निराश शिक्षक, कर्मचारी, चिकित्सकहरुलाई समयमै तलब सुविधा दिए । सँगै काम र कर्तव्यप्रति जवाफदेही बनाउँदै राम्रो काम गर्नेलाई प्रोत्साहन, गलत गर्नेलाई कारवाहीका प्रक्रियाहरु थाले । सुरुमै व्यवस्थापकीय पाटोलाई सुधार गर्दै गएपछि त्यसले समग्र कलेज सञ्चालनमा सुधार ल्याएको कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले बताए ।

पछिल्लो समय कलेजले विशिष्टीकृत सेवाहरु सञ्चालनमा जोड दिइरहेको छ । ल्याबको स्तरोन्नती गरिएको छ । नयाँ र आधुनिक एमआरआई, सिटी स्क्यान सेवाहरु थप गरिँदैछन् । अलपत्र परेको कलेजको डेण्टल भवन निर्माण भइरहेको छ । फार्मेसीको स्तरोन्नति तथा इमरजेन्सी अगाडी फार्मेसी सञ्चालनमा ल्याइएको छ । जनरल ओपिडी, वार्ड लगायतका क्षेत्रमा भत्किएका, विग्रिएका संरचनाहरु बनाइएका छन् ।

कलेजले एक वर्षयता स्वास्थ्य सेवातर्फ उल्लेखनीय सुधारका कामहरु गरेको छ । अन्सारीको प्रवेश अघिसम्म अस्पतालको इमरजेन्सीमा आएका सामान्य बिरामीसम्म रेफर हुने गरेकोमा अहिले अन्य अस्पतालहरुबाट बिरामी रेफर भएर आउँछन् ।

कलेजले विशेषज्ञ जनशक्ति थप गर्दै सेवाहरु पनि विस्तार गरेको छ । एक वर्ष यता कार्डियोलोजीमा २ वटा वार्ड विस्तार गरिएको छ । ३० वेडको आइसियूलाई बढाएर ५२ वेड पुर्याइएको छ । १० वेडको एनआइसियूमा १५ वेड थप गरेर २५ वेड बनाईएको छ ।

मिर्गौलाका बिरामीहरुको डायलाइसिसका लागि कलेजले विशेष सेवा दिइरहेको छ । २० वेडको डायलाइसिसलाई थप गरेर ५० बनाइएको छ । कार्डियोलोजी, अंकोलोजी, न्यूरोलोजी जस्ता गहन विषयमा सेवाहरु थप गर्न गइरहेको छ । ओपिडी सेवामा दक्ष तथा अनुभवी विशेषज्ञ डाक्टरहरु उपलब्ध छन् ।

आउँदा दिनहरुमा कलेजको स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाएर लैजाने अन्सारीको योजना छ । कोरोना महामारीसँगै थिल्थिलो भएको अर्थतन्त्रमा उनले करिब २ अर्ब नयाँ लगानी गरेर नेपाल मेडिकल कलेजलाई उकास्न लागि परेका हुन् । अन्सारीको लक्ष्य नेपाल मेडिकल कलेजको मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई मुलुककै नमुना बनाउने रहेको छ ।

















0 प्रतिकृया