Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


रामचन्द्र पाैडेल मुलुककाे तेश्राे राष्ट्रपतिमा निर्वाचित

एक्सन खबर
फागुन, २५, २०७९


रामचन्द्र पाैडेल मुलुककाे तेश्राे राष्ट्रपतिमा निर्वाचित

काठमाडाैं, २५ फागुन । रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पाैडेलले नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेम्वाङलाई पराजित गरि राष्ट्रपतिमा निर्वाचित भएका हुन् । पौडेलले ३३ हजार ८ सय २ मतभार प्राप्त गरे । उनले संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार प्राप्त गरेका छन् ।

पाैडेलसँग पराजित नेम्वाङले संघमा ७ हजार ७ सय ४२ र प्रदेशमा ७ हजार ७ सय ७६ मतभार गरी कूल १५ हजार ५ सय १८ मतभार ल्याए । निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायतले मतदान गरेका थिए ।

राप्रपा र नेमकिपा भने राष्ट्रपति निर्वाचनमा सहभागी भएनन् ।

कुनैबेला प्रधानमन्त्रीका लागि १७ पटकसम्म हार व्यहाेरेका पौडेल राष्ट्रपति पदमा भने पहिलो प्रयासमै निर्वाचित भए । उनी मंसिर ४ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

पाैडेल यस्ताे छ पाैडेलकाे राजनीतिक जीवन

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पौडेल नेपाली काङ्ग्रेस संसदीय दलका नेता हुन् । शान्ति तथा पुनर्निर्माण मन्त्री र उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालय सम्हालिसकेका पौडेलले पार्टी मुखपत्र नेपाल पुकारको सम्पादक लगायत विभिन्न जिम्मेदारी वहन गरिसकेका छन् ।

पौडेल ६ पटक सांसद, ५ पटक मन्त्री, उपप्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख भइसकेका छन् । उनले २०४८ को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं. १ बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं.२ बाट, ०६४ र ०७० सालकाे संविधान सभा निर्वाचनमा पनि विजयी भए । ०७४ सालकाे प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहाेरेका उनी ०७९ सालकाे प्रतिनिधि सभा निर्वाचनमा विजयी बन्दै संसदमा थिए ।  

पाैडेल बी.पी. कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीति तर्फ आकर्षित भएका व्यक्ति हुन् । ०४८ सालमा उनी पहिलाेपटक स्थानीय विकास मन्त्री भएका थिए । ०४९ मा कृषि मन्त्री, ०५१ मा प्रतिनिधिसभाकाे सभामुख, ०५६ सालपछि उपप्रधान तथा सूचना सञ्चारमन्त्री, स्थानीय विकासमन्त्री, उपप्रधान तथा गृहमन्त्री भएका थिए ।

पौडेलको राजनीतिक यात्रा विद्यार्थी कालदेखि नै शुरु भएको हो । पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण उनी पटक-पटक गरी १३ वर्ष जेल परेका छन् ।

प्रजातन्त्रप्रतिको निष्ठा र जनतासँगको अटुट लगावले आफूलाई विजयी बनाएको बताउने पौडेल संविधानसभामा गणतन्त्र संस्थागत गर्ने तथा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको वकालत गर्ने विषयलाई प्रमुखताका साथ उठाउने गर्दथे । अध्ययनमा विशेष रुचि राख्ने पौडेलका प्रजातान्त्रिक समाजवाद, नयाँ सन्दर्भमा समाजवाद, आस्थाका यात्रा लगायत आधा दर्जन कृतिहरू प्रकाशित छन् ।
 
















0 प्रतिकृया