Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


महिलाले पुरुषभन्दा कम छैन भनेर हिम्मत गर्नुपर्छः निवर्तमानमन्त्री भगबती चौधरी

एक्सन खबर
फागुन, २६, २०७९


महिलाले पुरुषभन्दा कम छैन भनेर हिम्मत गर्नुपर्छः निवर्तमानमन्त्री भगबती चौधरी

काठमाडौं, २६ फागुन । महिलामाथिको विभेद न्यूनिकरण गर्न नीतिगत रुपमा सुधारका कार्यहरु गर्नुपर्ने निबर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले बताएकी छिन् । लैङ्गिक समानता कायम गर्न महिलासँगै पुरुषहरुको भूमिका पनि महत्वपूर्ण हुने बताउँदै सांसद चौधरीले नीतिगत तहमा देखिएका कमजोरी सुधार्न आवश्यक रहेको बताइन् ।

नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय महिला कमिटीद्वारा आज सिंहदरबारमा ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै महिला अधिकारवादी नेतृ समेत रहेकी चौधरीले छोटो समय महिलामन्त्री भएपछि नीतिगत सुधारमा ध्यान दिँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता सम्बन्धी राष्ट्रिय नीतिहरु सुधार्न काम गरेको पनि बताइन् । ‘नीतिगत रुपमा लैङ्गिक समानता कायम गर्न हाम्रा ऐन, नीति र कानुन समय सापेक्ष परिवर्तन गर्न जरुरी छ । त्यसका लागि राज्यले ठोस योजना बनाएर कार्यान्वयन गर्न जरुरी छ ।’ सांसद चौधरीले भनिन् ।

नेपालमा सबै प्रकारका विभेदहरु अन्त्य गर्नका लागि महिला, मन्त्रालयसँगै अन्य मन्त्रालयहरुको भूमिका पनि हुनुपर्ने बताउँदै सांसद चौधरीले आजकल गर्भावस्थाबाटै विभेदका घटनाहरु हुने गरेको पनि बताइन् । ‘पहिले छोरी जन्मिएपछि विभेद हुन्थ्यो, आजभोली विज्ञान र प्रविधिले आमाको गर्भमै रहँदा लिङ्ग पहिचान गर्न सकिन्छ, कतिपय अवस्थामा छोरी रहेछभने गर्भमै हत्या गरिन्छ । यसलाई कसरी रोकथाम गर्न सकिन्छ ध्यान जानुपर्छ ।’ चौधरीले भनिन् ।

नेपालले महिला, बालबालिकाका सन्दर्भमा विभिन्न अन्तराष्ट्रिय सन्धी, महासन्धीहरु गरेपनि कार्यान्वयन तहमा ध्यान नदिएको चर्चा गर्दै लैङ्गिक समानता कार्यम गर्न ग्रासरुटमा पुगेर काम गर्नुपर्ने चौधरीको भनाई छ । ‘अन्तराष्ट्रिय सन्धी, महासन्धी चैं गर्ने, कार्यान्वयन गर्न नसक्ने हुनुहुन्न । उचित पोलिसी बनाएर जानुपर्छ ।’ चौधरीले भनिन् ।

राजनीतिमा पनि पुरुषको दाँजोमा महिलालाई कम अवसर दिएको चर्चा गर्दै आफुलाई तीन,तीन वटा निर्वाचन लड्दा प्रतिष्पर्धी उम्मेदवारले नै होच्याएर संवोधन गरेको बताइन् । ‘देशकै ठूलो नेतासँग चुनाब लड्दा महिला भएकै कारण मतदातालाई प्रभावित गर्ने क्रममा होच्याएर संवोधन गर्थे ।, त्यो महिला, अझ एकल महिला, केही गर्न सक्दिन । कहाँ बाघ, कहाँ बकरी जस्ता शब्द प्रयोग गरे । तर, म विचलित भइन, एकदिन कसो नजितुँला भन्ने भयो ।’ कसैले महिलालाई कमजोर भनेर होच्याएमा अझ दृढताका साथ अगाडी बढ्न सुझाउँदै मेहनत गरे सफलता प्राप्त गरिने सांसद चौधरी भनिन् । पछिल्लो समय विज्ञान र प्रविधिको समय भएकाले त्यसमा आफुलाई अभ्यस्त पार्न पनि महिलाहरु सक्रिय हुनुपर्नेमा उनको जोड थियो ।    

सार्वजनिक प्रशासनमा महिलाहरुको सहभागिता बढ्दो रहेपनि निर्णायक तहमा कमै महिलाहरु पुगेकोमा चिन्ता व्यक्त गर्दै महिलाहरु स्वयंले पनि पुरुषभन्दा कम छु भन्ने हिनताबोध हटाएर अवसर पाए गरेर देखाउँछु भनेर काम गर्नुपर्ने सांसद चौधरीले बताइन् । साथै, पुरुष सहकर्मीहरुले पनि महिलालाई हेयका दृष्टिकोणले नहेरी अवसर, हौसला र प्रोत्साहन दिनुपर्ने बताउँदै महिलाले अवसर पाउँदा पुरुषले भन्दा बढी इमान्दारिताका साथ कर्तव्य पुरागर्ने पनि चौधरीले बताइन् ।

अन्तरक्रिया कार्यक्रममा ‘महिला, नेतृत्व, अवस्था, चुनौती र अवसर’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पूर्वसचिब यामकुमारी खतिवडाले निजामती सेवामा २६ दशमलब ११ प्रतिशत, राजपत्राङ्कतमा १४ दशमलब ३ प्रतिशत, राजपत्रअनङिकतमा २६ दशमलब १३ प्रतिशत, स्वास्थ्य सेवामा ४८ दशमलब २१ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा २९ दशमलब ३१ प्रतिशत महिला सहभागिता रहेको जानकारी दिइन् ।

लैङ्गिक समानता कायम गर्नका लागि महिलाहरुलाई निर्णायक तहमा पुर्याउनु पर्ने बताउँदै खतिवडाले नेतृत्व दिने बेला महिला आफैंले पनि पुरुषभन्दा कम छैन भन्ने सोच राखेर अगाडी बढ्नु पर्नेमा जोड दिइन् ।













0 प्रतिकृया