स्व. पालुङ्वाको स्मृतिमा खाना वितरण
एक्सन खबर
धरान, २८ फागुन । शिक्षक एवम् समाजसेवी स्वर्गीय चक्रबहादुर पालुङ्वाको स्मृति गर्दै जन्म दिनको अवसरमा खाना वितरण गरिएको छ । लायन्स क्लब अफ धरान सिंहदेवीको आयोजना तथा मास्टर चक्रबहादुर फाउण्डेशनको सहयोगमा पुर्नस्थापना गृह, धरान १ मा आश्रित अपाङ्ग, अशक्त र अनाथ वालवालिका तथा वृद्ध–वृद्धाहरुलाई खाना वितरण गरिएको हो ।
क्लबका निवर्तमान अध्यक्ष तथा डिष्ट्रिक चेयरपर्सन लायन सुजेन्द्र तामाङका अनुसार क्लबका अध्यक्ष लायन सन्ध्या श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डा. योगेन्द्र पालुङ्वाले पिता स्वर्गीय मास्टर चक्रबहादुर पालुङ्वाले शिक्षा र सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई जीवन्त राख्न परिवारका सदस्यहरुवाट फाउण्डेशन नै स्थापना गरेर सामाजिक कार्यहरु गर्दै आएका छन् । स्व. पालुङ्वाले आफ्नो जीवनीमा आधारित चक्रको युग चक्र नामक ग्रन्थ समेत प्रकाशित गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि चीफ वुमन लिडरसीप लायन मिना पुलामीले लायन्स क्लबको उद्देश्य नै समाज सेवा भएकाले आफ्नो दिवंगत वुवाको स्मृतिमा असहाय अशक्तहरुलाई खाना वितरण गरेकोमा मास्टर चक्रबहादुर फाउण्डेशन र लायन्स क्लब अफ धरान सिंहदेवी परिवारलाई विशेष धन्यवाद व्यक्त गरिन् ।
क्लबका अध्यक्ष लायन सन्ध्या श्रेष्ठले क्लबको विभिन्न सेवामूलक कृयाकलापका अतिरिक्त क्लबका सदस्य र तीनका परिवारका सदस्यको जन्मदिन र पुण्य तीथिको अवसर पारेर समेत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताईन । कार्यक्रममा पुर्नस्थापना गृहका सञ्चालक भिम राईले खाना वितरण कार्यको प्रशंसा गरे ।
0 प्रतिकृया