किर्तिमानी जितसँगै नेपालले जोगायो एकदिवसीय मान्यता
एक्सन खबर
काठमाडौं, २८ फागुन ।आईसीसी विश्वकप क्रिकेट लिगमा नेपालले विश्वकप छनाैटमा पुग्ने संभावना कायमै राखेकाे छ । यूएईमाथि १७७ रनको शानदार कीर्तिमानी जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको हाे । नेपालले अबकाे बाँकी २ खेल जितेर सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायमै राखेको छ ।
त्रिवि क्रिकेट मैदानमा आईसीसी विश्वकप क्रिकेट लिग टूको आइतबारको खेलमा नेपालले यूएई लाई १७७ रनमा पराजित गर्दा नेपाली ब्याट्सम्यानले शानदार प्रदर्शन गरे ।
नेपालका लागि ललितले सर्वाधिक ५ विकेट लिए । ७.५ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै २० रन खर्चिए । सन्दीप लामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ५ ओभरमा ३ मेडन राख्दै जम्मा ६ रन खर्चेर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले पनि समान १/१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङमा उत्रिएकाे घरेलु टोलीको ओपनिङ भने खराब रह्यो । तर मध्यक्रममा ब्याटरले आफ्नो जिम्मेवारी निभाउँदा नेपालले २४८ रनको सम्मानजनक २४९ रनको योगफल खडा गरेको थियो ।
२४९ रनको लक्ष्य पछ्याएको यूएईलाई दबावमा राख्दै नेपाली स्पिनरहरुले घातक बलिङ गर्दा यूएईको ओडीआई पनि संकटमा परेको छ । खेलमा ललित राजवंशीले पहिलो ओभरमै विकेट लिँदा दबावमा परेकाे यूएईले ८ रन जोड्दा चार विकेट गुमायाे ।
सन्दीप लामिछानेले मुस्तफालाई एलबीडब्लू धरापमा पार्दै २६ रनको साझेदारी तोडे । यूएई एकदिवसीय क्रिकेटमा सबभन्दा कम स्कोर निकाल्दै २२.५ ओभरमा ७१ रनमा अलआउट भयो । यूएईका लागि आयान खानले सर्वाधिक २९ रन बनाउँदा अश्वन्थ भल्थापाले १४ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक हासिल गर्न सकेनन् । नेपालले ओडीआईमा १७७ रन अहिलेसम्मकै फराकिलो जितकाे स्काेर बन्याे । यसअघि २०२१ सेप्टेम्बरमा नेपालले पीएनजीलाई १५१ रनले पराजित गरेको थियो ।
घरेलु टोलीले २२ रन जोड्दा सुरुवाती तीन विकेट (कुशल भुर्तेल, आशिफ शेख र कुशल मल्ल) गुमाएपनि मध्यक्रमका ब्याट्सम्यानहरू संहालिए । कप्तान रोहितकुमार पौडेलले कप्तानी पारी खेले । चौथो विकेटका लागि भीम सार्कीसँग ५४ रनको साझेदारी गरेका उनले अर्को विकेटका लागि आरिफ शेखसँग ८६ रन खेले ।
रोहित व्यक्तिगत ७७ रनमा आउट हुँदा नेपालको स्कोर १६२ रन थियो । त्यसपछि गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै छैटौं विकेटका लागि आरिफ शेखसँग ३० रनको साझेदारी गरे । उनले सातौं विकेटका लागि दीपेन्द्र सिंह ऐरीसँग ४८ रनको साझेदारी गर्दै ३७ रनमा आउट भए । नेपाल २४८ रनमा अलआउट भयो ।
नेपालका लागि आरिफले ४३ रन जोड्दा दिपेन्द्रले १९ बलमा ३४ रन बनाए । भीम सार्कीले २९, कुशल मल्लले ९, कुशल भुर्तेलले ८ रन जोड्दा सन्दीप र सोमपालले २–२ रन जोडे । आशिफ शेख शून्यमै आउट भहुँदा नटआउट ललित राजवंशीले पनि खाता खोलेनन् ।
लिग टूमा १२ खेल बाँकी हुँदा १० लेख मध्ये ९ खेल जितेर नेपाल ३६ अंकसहित चौथो स्थानमा उक्लिएको छ । अब पपुवा न्यूगिनी र यूएईविरुद्ध बाँकी दुई खेलमा जित निकाले नेपाल ३९ अंक बनाएको नामिबियालाई उछिन्दै तेस्रो स्थानमा उक्लिँदै जिम्बाब्बेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ । शीर्ष तीनमा पर्न नसक्दा नेपालले विश्वकप छनोटमा पुग्न प्ले अफ खेल्नुपर्छ ।
हारसँगै यूएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ । अमेरिकाकाे ३५ अंक छ । हेड टू हेडमा अमेरिका भन्दा यूएई तल रहेकाले उसको एकदिवसीय मान्यता संकटमा छ ।
0 प्रतिकृया