उपराष्ट्रपतिमा चारै जनाको उम्मेदवारी कायम
एक्सन खबर
काठमाडौं, २८ फागुन । निर्वाचन आयोगले उपराष्ट्रपतिमा चारै जनाकाे उम्मेदवारी कायम गरेकाे छ । जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी खारेजीकाे माग गर्दै परेकाे उजुरी उपर बाेल्दै आयोगले उम्मेदवारी कायम रहने भनेकाे हाे ।
याेसँगै आयोगले अन्तिम नामावली समेत प्रकाशित गरेकाे छ ।
एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार कायम हुन नसक्ने भन्दै यादवको उम्मेदवारी विरुद्ध उजुरी दिएकामा आयोगले आइतबार विहानै यादवको उम्मेदवारी पनि कायम रहने निर्णय गरिसकेको हाे ।
आइतबार अपरान्ह राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौड्यालले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै शनिबार उम्मेदवारी दिएका अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव, प्रमिला कुमारी र ममता झा चारैजनाको नाम समावेश गरेकाे छ ।
आयोगले रामसहायप्रसाद यादवको उम्मेदवारी कायम रहने निर्णय गरे पनि जसपाले आफ्नो पार्टीका दुबै उम्मेदवार कायम राखेको छ । जसपाले राष्ट्रपतिकाे निर्वाचनकै दिन रामसहाय उपराष्ट्रपतिको उम्मेदवार तोकेको थियो । तर राष्ट्रपति र उपराष्ट्रपति दुबै पुरुष हुन नहुने प्रश्न उठेपछि प्रमिला कुमारीलाई पनि उम्मेदवार बनाएको थियो ।
निर्वाचन आयोगले रामसहायको उम्मेदवारी सदर गरे पनि अदालतमा मुद्दा पर्न सक्ने आशंकाले अन्तिमसम्म दुबै उम्मेदवार कायम राख्ने जसपाकाे रणनीति छ ।
0 प्रतिकृया