नवनिर्वाचत राष्ट्रपति पौडेलले आज शपथ ग्रहण गर्दै
एक्सन खबर
काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ । दिउँसो १ बजे शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा पौडेलले कायममुकायम प्रधानन्यायाधिशबाट पद तथा गाेपनियताकाे शपथ ग्रहण गर्न लागेका हुन् ।
राष्ट्रपति पौडेललाई प्रधानन्यायाधीश नभएकाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका हरिकृष्ण कार्कीले शपथ ग्रहण गराउने कार्यक्रम छ ।
यही फागुन २५ गते राष्ट्रपति पदमा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल एमालेका उम्मेदवार सुवास नेम्वाङलाई पराजित गर्दै निर्वाचित भएका थिए । पाैडेलले निर्वाचनमा ३३ हजार ८०२ र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए ।
संविधानले राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नपाउने व्यवस्था गरेकाे छ । नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव र दोस्रो तथा तेश्राे राष्ट्रपति विद्यादेवी भण्डारी हुन् ।
नवनिर्वाचित राष्ट्रपति पाैडेलकाे सपथसँगै भण्डारी आजै शीतलनिवासबाट बूढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन् । हिजाे कार्यकालको अन्तिम दिन भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित राजनीतिक दलका शीर्ष नेताहरुले शीतलनिवासमा भेटघाट गरेका थिए ।
नयाँ राष्ट्रपति पौडेल, प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरू शितल निवास पुगेका थिए ।
साे अवसरमा भण्डारीले आफ्नो कार्यकाल पूरा गर्न सहयोग गर्ने विभिन्न कार्यकालका प्रधानमन्त्रीहरू, राजनीतिक नेतृत्वलाई धन्यवाद दिएकी थिइन् ।
0 प्रतिकृया