Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


स्वार्थ बाझिने मन्त्रालयमा जान्नः सांसद डा. सुनिल शर्मा

एक्सन खबर
फागुन, २९, २०७९


स्वार्थ बाझिने मन्त्रालयमा जान्नः सांसद डा. सुनिल शर्मा

काठमाडौं, २९ फागुन । चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै नेपाली कांग्रेस सरकारमा जाने तयारीमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको निर्वाचन पछि संसदमा विस्वासको मत लिने र सरकार पुर्नगठन गर्ने रणनीति अपनाउँदा कांग्रेसबाट सरकारमा जानेहरुको चर्चा परिचर्चा पनि चलिरहेको छ ।

आज सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको सपथ ग्रहण तथा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको विदाई कार्यक्रममा सरकार गठनकै विषयमा चर्चा भए । सञ्चारकर्मीहरुले कांग्रेस सांसदहरुलाई कांग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ ? को को मन्त्री बन्दैछन् ? भन्ने प्रश्न सोधेका थिए ।

सोही क्रममा मोरङ क्षेत्र नं.३ का सांसद डा. सुनिल शर्मालाई भने सञ्चारकर्मीहरुले तपाईं स्वास्थ्यमन्त्री बन्दै हुनुहुन्छ रे ? भन्दै प्रश्न गरे । लामो समयदेखि स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा सक्रिय सांसद डा. शर्माले भने आफु मन्त्री बन्दा स्वास्थ्य र शिक्षा मन्त्री भने नबन्ने बताए । आफु लामो समयदेखि राजनीतिमा सक्रिय रहेको जनाउँदै व्यवसाय र राजनीति फरक–फरक विषय रहेको बताउँदै आफ्नो व्यवसायमा जोडिएका मन्त्रालय नलिने बताए । ‘पार्टीले मन्त्री बनाउँदा पनि २ वटा मन्त्रालय जाँन्न भन्या छु, एउटा शिक्षा, एउटा स्वास्थ्य । व्यवसायसँग जोडिएका मन्त्रालय शिक्षा र स्वास्थ्य भएकाले ती मन्त्रालयमा जान्न ।’ डा. शर्माले भने ।

विवादित काममा हातै नहाल्ने बताउँदै डा. शर्माले विवाद नहुने मन्त्रालय पाए, पार्टीले सरकारमा पठाए काम गरेर देखाउने दावी गरे । पार्टीले जहाँ पठाएपनि राम्रो काम गरेर देखाउने डा. शर्माको भनाई छ । ‘मलाइ भ्रष्ट्राचार गर्नु छैन, पैसा कमाउनु छैन, पाइहाले अवसर भने अन्य मन्त्रालयहरूमा जान्छु, पार्टीले विस्वास गरेकाे खण्डमा पार्टीकाे इज्जत राख्ने गरी काम गर्छु ।’ डा. शर्माले भने ।

त्यस्तै सांसद डा. शर्माले राष्ट्रपतिले देशको संविधान, र कानुनको रक्षाका निम्ति काम गर्ने विस्वास लिएको बताउँदै उनले जनतालाई दुखः दिने काम बन्द गरिनुपर्ने पनि बताए । प्रधानमन्त्रीले गरेका गलत काम राष्ट्रपतिले रोक्न सक्नुपर्ने बताउँदै नवनिर्वाचित राष्ट्रपतिले निवर्तमान राष्ट्रपतिले जस्तो केपी शर्मा ओलीले पठाएका गलत निर्णयहरु हतारहतार स्वीकृत गरेजस्तो गर्न नहुने पनि बताए ।

योपटक कांग्रेसबाट उपसभापति पुर्णबहादुर खड्का र केन्द्रीय सदस्य प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने चर्चा चलिरहेको छ । साथै, डा. शेखर कोइरालाको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्छ भन्ने मत पनि छ । तथापि, कांग्रेसमा देउवा र कोइराला दुवै पक्षले आधिकारिक रुपमा यसबारेमा मुख खोलेका छैनन् ।

उपराष्ट्रपतिको निर्वाचन पछि कांग्रेसले प्रधानमन्त्रीले विस्वासको मत लिएपछि मात्र सरकारमा जाने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई यसअघि नेकपा एमालेले लिएका ८ मन्त्रालय कांग्रेसलाई दिने र बाँकी मन्त्रालयहरु साना दललाई दिएर सरकार गठन गर्ने रणनीति बनाएको एक माओवादी केन्द्रका नेताले बताए ।  













0 प्रतिकृया