१० दलीय गठबन्धन रावणकाे टाउकाे जस्ताेः अध्यक्ष केपी शर्मा ओली
एक्सन खबर
काठमाडाैं, १ चैत्र । १० दलीय गठबन्धन महिलाका हक र अधिकार खोस्न लागिपरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । राष्ट्रपति उपराष्ट्रपति मध्ये एक जना महिला हुनुपर्ने प्रावधानलाई १० दलीय गठबन्धनका नेताहरूले अपव्याख्या गरेकाे उनले जिकीर गरे ।
उपराष्ट्रपति निर्वाचनबारे पार्टीका सांसदहरूविचको अन्तर्क्रियामा बोल्दै अध्यक्ष ओलीले १० दलीय गठबन्धनका नेताहरू संविधानको मर्म र भावना मिच्न तथा महिला अधिकार खोस्न सक्रिय रहेकाे समेत बताए । ‘१० दलीय गठबन्धनका नेताहरू संविधानको मर्म र भावना मिच्न तथा महिलाका हक, अधिकार खोस्न लागिपरेका छन् । निर्वाचन आयोग त प्रयोग गरिसके अरू संस्थालाई पनि प्रयोग गर्न सक्छन्, हामी सचेत हुनुपर्छ,’ ओलीले भने ।
ओलीले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला नै हुनुपर्ने संविधानको मर्म रहेको पनि जिकीर गरे । निर्वाचन आयोगले जसपा उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपतिमा उम्मेदवारी कायमै राखिदिएकोमा उनले असन्तुष्टि पनि जनाए । ‘राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला नै हुनुपर्ने, सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने संविधानको मर्म र भावना हो, यो विषय सर्वोच्च अदालतको संवैधानिक इजलासले हेर्नुपर्ने र व्याख्या गर्ने कुरा हो ।’ उनले भने ।
उनले १० दलीय गठबन्धनलाई रावणको संज्ञा समेत दिए । गत फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई १० दलका सांसदले मतदान गरेकाेमा त्यसतर्फ लक्षित गर्दै ओलीले १० दलीय गठबन्धन भनेका हुन् । ‘१० दलीय गठबन्धन, जब १० टाउको एकै ठाउँमा राखेपछि के हुन्छ ? रावणको पनि थियो १० टाउको, अहिलेका रावण पनि फेरि महिलाका हक र अधिकार हरण गर्न लागेको देखिन्छ ।’ ओलीले भने ।
उनले स्थानीय तह चुनावमा चलाखीसाथ महिलाका हक र अधिकार हरण गरिएकाे बताउँदै यसपटक राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरूष र महिला विच सन्तुलन नमिलाइएकाे पनि जिकीर गरे ।
उनले कम्युनिष्ट नेता हुँ भन्नेहरूले नै राष्ट्रपति नेपाली कांग्रेसलाई बुझाएको बताउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै भने । उनले चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनमा भोट थप गर्न पहल गर्नसमेत सांसदहरूलाई निर्देशन दिँदै उपराष्ट्रपति चुनावमा ह्वीप उल्लङ्घनको विषय नहुने पनि बताए । एमालेबाट उपराष्ट्रपति उम्मेदवारमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य छिन् ।
0 प्रतिकृया