Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


खोई कसरी पो उँभो लाग्ने हो ?

एक्सन खबर
चैत, १, २०७९


खोई कसरी पो उँभो लाग्ने हो ?

नारायण पाैडेल

१. बढ्दो व्यापार घाटा र महँगीको चपेटाः
यस आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिना अर्थात् २०७९ माघसम्ममा देशको कुल निर्यात रु. ९३.४३ अर्ब र आयात रु. ९१९.१७ अर्ब पुग्यो, हामी १० रुपैयाँ १६ पैसाको निर्यात गरेर १०० रुपैयाँको आयात गर्छौं, व्यापार घाटा त बढ्ने नै भयो, अहिले रु. ८२५.७३ अर्ब पुग्यो ।

महँगी, अहिले त ८ प्रतिशतको हाराहारीमा छ, बाहिरबाट नै सामानको मूल्य बढेर आउँदा पनि र विदेशी मुद्राको तुलनामा हाम्रो रुपैयाँ कमजोर हुँदा पनि बढ्ने नै भयो । स्वदेशी उत्पादनमा कमी आउँदा त झनै बढ्ने भो । हामीले के उत्पादन गर्ने हो, के बाहिर पठाउने हो र बाहिरबाट आउने कुन सामानलाई प्रतिस्थापन गर्ने हो, अलमलै अलमल पो छ ।

२. सरकारी आम्दानी र खर्चमा तालमेल छैनः

७ महिनासम्म आइपुग्दा सरकारको कुल राजस्व परिचालन रु. ५१४.६९ अर्ब र कुल खर्च रु. ६६७.६६ अर्ब रहेको छ, अर्थात् आम्दानी र खर्च बीच तालमेल छैन । राजस्व परिचालन कसरी पो बढाउने । व्यक्तिगत आयकरको दर ३६ प्रतिशतसम्म र संस्थागत आयकरको दर ३० प्रतिशतसम्म पुर्याइ सकिएको छ, अब कति बढाउनु । भंसार, अन्तशुल्क र मूल्य अभिवृद्धि लगायतका करका दरहरु पनि बढाउने खासै ठाँउ के नै होला र । घरजग्गाको करोवारमा हुने मध्यस्थता लगायतका नसमेटिएका अन्य केही सेवा व्यवसायहरुलाई करको दायरामा बाँध्ने बाहेक अरु के पो नयाँ क्षेत्र होला र । वातावरण नै यस्तो बन्दै गयो कि खर्चमा कमी ल्याउन त झन संभवै छैन ।

३. अनि खर्चिलो राज्य सँयन्त्रः
हाम्रो शासकीय व्यवस्था पनि खर्चिलो र बोझिलो हुँदै पो गयो त । संघीय व्यवस्थापिका तर्फ प्रतिनिधि सभामा २७५ सदस्य, राष्ट्रिय सभामा ५९ सदस्य र ७ वटा प्रदेशहरु प्रत्येकमा मुख्यमन्त्री, प्रदेश सरकार र प्रदेश सभासदहरु । नेपालको संविधानले प्रधानमन्त्री सहित बढीमा २५ जनाको मन्त्रिपरिषद गठन गर्न सकिने व्यवस्था गरेको छ । विगतमा जगत हँसाउने खालको ५ दर्जन जतिको मन्त्रिपरिषद गठन नहोस् र खर्चमा मितव्ययिता अपनाइयोस् भनेर होला ।

यहाँ पनि एउटा छिद्र बाँकी नै रह्यो, भागबण्डा मिलाउन आकारमा २५ ननाघ्ने गरी जति पनि उपप्रधानमन्त्री बनाउन पाइने, व्यवहारमा नहोला तर सिद्धान्ततः १ जना प्रधानमन्त्री र २४ जनासम्म उपप्रधानमन्त्री हुन सक्ने देखियो । विभिन्न बहालवाला तथा पूर्व पदाधिकारीहरुको पारिश्रमिक, सुरक्षा प्रबन्ध लगायतका अन्य सेवासुविधा र खर्च, स्वकीय सचिवहरु, अनेक नाम र विधाका सल्लाहकारहरु र विभिन्न विषय निरुपण गर्न खुलेका थुप्रै आयोगहरु । करिब ३ करोड जनसंख्याको आवादीसहितको १ लाख ४७ हजार वर्ग कि.मी. को भूगोल ओगटेको हाम्रो मुलुकको क्षमताले थेग्ने संयन्त्र हो त यो । अरु बोझिला खर्च पनि कति कति ।

एउटा उदाहरण एकजना माननीयज्यूको अनुभवलाई लिन सकिन्छ । चुनावपछि यतिका बैठक र छलफल भए रे तर, देशको विकास एवम् जनताका कुरा नै छैनन् रे, सहमति अनि भागबण्डामै केन्द्रित रे । अर्को उदाहरण आजको कान्तिपुरबाट–विभूषण भागबण्डाले खर्च तेब्बर । विभूषण बनाउन नियमित बजेट ६ करोड, भागबण्डा पुर्याउन संख्या बढाउँदा खर्च १५ करोड, विभूषण पाउनेमा सत्तारुढ दलका नेता–कार्यकर्ता, आसेपासे र स्वार्थ समूह तथा शक्तिकेन्द्र निकट धेरै रे । ओ हो नि खर्च त, कसरी पो धान्ने हो ?

४. रेमिट्यान्स त आयो, तर गाउँ रित्तैः
गाउँघरतिर खेतवारी बाँझै छ, गाईभैंसी वस्तुभाउ पाल्न छाडे, चरन र डालेघाँसका बुटा झ्याँगिएर जँगल नै बने, मलखाद हराउँदै गए । वृद्ध, बालबालिका र गृहणी महिला बाहेक युवावर्ग गाउँमा देखिनै छाडे, रोजगारीको सिलसिलामा लाखौं युवा विदेशिए । उपलब्ध युवाशक्तिको अवसर लागत स्वरुप ७ महिनाको अवधिमा ७ सय अर्ब जति रेमिट्यान्स त आयो, तर यो सधैं स्थायी स्रोतको रुपमा रहला र ? दीगोपनाको पनि कुरा छ नि ।

५. अनुशासन फितलो भो, उद्दण्डता बढ्योः
बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप तथा कर्जामा सामान्य वृद्धि देखिएको त छ, तर तरलता स्थिति त्यति सहज देखिन्न र अघिल्ला वर्षहरुको तुुलनामा ब्याजदर बढ्दै गएको छ । गएको एक वर्षको अवधिमा पुँजी बजार सूचकाङ्क पनि झण्डै ७ सय अंकले ओर्लियो ।

समस्या छन्, जतासुकै । बैंक वित्तीय संस्थामा छन्, ऋणी पनि समस्याबाट आक्रान्त छन्, मिटरब्याजीपिडितका आफ्नै समस्या छन् । तर, मुठभेडमा उत्रेजस्तो गरी बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज तथा साँवा नै नतिर्ने भनी नाराबाजी तथा प्लेकार्डसहितको अभियान अनि लघुवित्तलाई गालीगलौज गर्दै मिटरब्याजीसँग तुलना गरेर समस्या त हल हुन्न । अनुशासित, मर्यादित र अर्थपूर्ण ढंगबाट बसेर वार्ता तथा छलफलमार्फत् निक्र्यौल निकाल्दा पो त राम्रो । गुनासो सुन्ने, तिनको व्यवस्थापन र जायज गुनासोको यथोचित संबोधन पनि गर्ने अनि निगरानी र नियमन गर्ने निकाय तथा सरकारी भूमिका पनि सशक्त हुनुपर्यो ।

५. र अन्त्यमा एउटा गितः
अब एउटा गित सुनम । शिव परियारले गाउनु भएको एउटा गित अहिले कर्णप्रिय भा छ । धोके.....बाज हौ तिमी, धोकेबाज हौ तिमी, जुनी भरीलाई रुवाई गयौ तिमी, अझैपनि यो मनमा छौउउ तिमी, जुनी भरीलाई रुवाई गयौ तिमी, अझैपनि यो मनमा छौउउ तिमी, धोके.....बाज हौ तिमी, धोकेबाज हौ तिमी......।
पाैडेल नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।













0 प्रतिकृया