एमविविएस एकीकृत परीक्षामा सिट संख्या भन्दा बढी विद्यार्थी पास
एक्सन खबर
काठमाडौं, २ चैत । चिकित्सा शिक्षा आयोगको एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षामा सिट संख्या भन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन् । आयोगले फागुन २४ गते लिएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
उक्त नतिजा अनुसार (एमईसीईई–बीएल २०२३) अन्तर्गतको एमबीबीएस शैक्षिक कार्यक्रममा आयोगले छुट्याएको सिट संख्या भन्दा चार हजार ७७४ जना बढी विद्यार्थी उत्तीर्ण भएका हुन् ।
एमबीबीएस एकीकृत प्रवेश परीक्षामा ६ हजार ६६९ जना एमबीबीएसको प्रवेश परीक्षामा उत्तीर्ण भएको आयोगले जनाएको छ । उत्तीर्ण भएका उनीहरू एमबीबीएस अध्ययन गर्न योग्य हुन् ।
आयोगले विभिन्न शिक्षण संस्थाको लागि एक हजार ८९५ सिट छुट्याएको भएतापनि बढी विद्यार्थी उत्तीर्ण भएकाले बाँकी चार हजार ७७४ जना विद्यार्थीले चिकित्सा शिक्षा पढ्न पाउने सम्भावना कमै छ ।
आयोगले परीक्षामा मर्यादा विपरीत कार्य गर्ने दुई जनाको परीक्षा रद्द गरेको छ । उत्तरपुस्तिकामा रोल नम्बरमा बबल बिगारेका २१३ विद्यार्थी र उत्तरपुस्तिकामा क्वेसन सेट र रोल नम्बर दुवैमा बबल बिगारेका २३ परीक्षार्थीको उत्तरपुस्तिका पनि रद्द गरिएको जनाएको छ ।
आयोगद्वारा प्रकाशित नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि चैत ८ गतेदेखि चैत १० गते सम्म आवश्यक प्रकृया पूरा गरी निवेदन दिनसक्ने भनिएको छ ।
0 प्रतिकृया