Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही ३–३ लाख दिने प्रधानमन्त्रीको घोषणा

एक्सन खबर
चैत, ३, २०७९


नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही ३–३ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, ३ चैत्र । सरकारले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई प्रतिखेलाडी ३ लाख पुरस्कारको घोषणा गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान नेपाली क्रिकेट टीमलाई सरकारी निवास बालुवाटार बोलाएर प्रत्येक खेलाडीलाई तीन तीन लाख रुपैंया दिने घोषणा गरेका हुन् । नेपालले बिहीबार त्रिवि क्रिकेट मैदान किर्तिपुरमा युएईलाई डकवर्थ लुईस नियम अनुसार ९ रनले हराउँदै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको हो । प्रधानमन्त्री दाहाल बिहीबार त्रिवि क्रिकेट मैदानमा नेपाल र युएई विचको खेल हेर्न पुगेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२३ को एकदिवसीय विश्वकपअघि तीन श्रेणीको एकदिवसीय लिग सञ्चालन गर्ने निर्णय गरेको थियो । १० टिमबीच प्रतिस्पर्धा हुने विश्वकपमा सुपर लिगका शीर्ष आठ (आयोजक भारतसहित) सिधैं पुग्ने प्रावधान छ। आइसिसीको नियम अनुसार बाँकी २ स्थानका लागि भने छनोट प्रतियोगिता खेल्नु पर्नेछ ।

छनोट प्रतियोगितामा सुपर लिगका पुछारका पाँच टिम,  लिग २ का शीर्ष तीन टिम र क्वालिफायर प्लेअफका २ टिम गरी १० टिमबीच प्रतिस्पर्धा हुनेछ।

नेपालले लिग २ को शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा स्थान बनाएको हो। अन्तिम १२ खेल बाँकी रहदाँसम्म अंक तालिकामा छैटौं स्थानमा रहेको नेपाल त्यसपछि १२ मध्ये ११ खेलमा ऐतिहासिक जित दर्ता गर्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लन सफल भएको थियो ।

अब नेपालले जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ ।













0 प्रतिकृया