रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित
एक्सन खबर
काठमाडाैं, ३ चैत्र । जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
बारा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य जसपाका संसदीय दलका नेता समेत रहेका यादवले संघीय सांसद तर्फ-१८४ को मतभार १४५३६ र प्रदेश सभाको मत ३२९ को मतभार १५७९२ गरी कुल ३० हजार ३२८ मतभार प्राप्त गरे ।
यता, निर्वाचित उपराष्ट्रपति यादवका निकटतम प्रतिष्पर्धी अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्तर्फ ८ हजार २१६ गरी कुल १६ हजार ३२८ मत प्राप्त गरेकाे राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जनमतबाट उपराष्ट्रपतिका उम्मेदवार ममता झाले प्रदेशतर्फ ७२० र संघतर्फ १ हजार ८१७ गरी २ हजार ५३७ मतभार प्राप्त गर्दा जसपाबाट उपराष्ट्रपतिकी अर्की उम्मेदवार प्रमिला कुमारीले प्रदेशतर्फ १ मत अर्थात ४८ मतभार पाएकी छन् ।
२०२७ सालमा बाराको कलैयामा जन्मिएका यादवले बीएस्सी, बीएडसम्मको अध्ययन गरेका छन् । उनी शिक्षण पेसा त्यागेर २०४६ सालपछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक थालेका थिए ।
उनी मधेसी जनअधिकार फोरमको संस्थापक महासचिव पनि थिए । २०६४ मा बारा-२ बाट संविधानसभा सदस्य निर्वाचित भएका यादव २०७४ र २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । उनीसँग वन तथा वातावरणमन्त्रीको जिम्मेवारी संहालेकाे अनुभव छ । उनकाे श्रीमति २ छाेरा र १ छाेरी छन् ।
0 प्रतिकृया