Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


प्रतिनिधि सभामा ३ विधेयक प्रस्तुत, प्रधानमन्त्रीले भाेली विस्वासकाे मत लिने

एक्सन खबर
चैत, ५, २०७९


प्रतिनिधि सभामा ३ विधेयक प्रस्तुत, प्रधानमन्त्रीले भाेली विस्वासकाे मत लिने

काठमाडाैं, ५ चैत्र । आज बसेको प्रतिनिधि सभाको बैठकमा ३ वटा विधेयक पेस भएको छ । आइतबार बसेकाे प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८’ स्वीकृत भएको छ ।

सभामुख देवराज घिमिरेले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८’ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा नेमकिपा सांसद प्रेम सुवाल बाहेक बहुमत सांसदले स्वीकृत गरेका छन् ।

विधेयकमाथि संशोधन प्रस्ताव राख्नका लागि सभामुख घिमिरेले ७२ घण्टाको समय दिएका छन् ।  गत फागुन १२ गते प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या नपुग्दा यो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्न सकिएको थिएन ।

त्यस्तै, संवैधानिक परिषद्, काम कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ प्रस्तुत भएको छ ।

बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ कानुन न्याय तथा संसदीय मामिला मन्त्री समेत रहेका प्रधानमन्त्री प्रचण्डको तर्फबाट सञ्चार मन्त्री रेखा शर्माले पेश गरेकी हुन् ।

यस्तै प्रतिनिधि सभा नियमावलीको मस्यौदा २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत भएको छ । मस्यौदामाथि संशोधनका लागि ७२ घण्टाको समय दिइएको छ ।  

आजको बैठकदेखि एमाले प्रमुख प्रतिपक्षी दलको भूमिकामा बस्दा नेपाली कांग्रेस सत्तापक्षको सिटमा बस्न थालेको छ । कांग्रेस सभामुखको आसनको दायाँतर्फ र एमाले बायाँतर्फको सिटमा बसेको छ ।

आजै बसेको नेपाली कांग्रेसको बैठकले भोलि प्रधानमन्त्रीले लिने विश्वासको मतको पक्षमा मत दिने र सरकारमा सहभागी हुने निर्णय गर्दै प्रतिनिधि सभाको सत्तापक्षको सिटमा बस्ने निर्णय गरेको थियो ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल बोलिरहेका बेला उनको अगाडिबाट प्रधानमन्त्री प्रचण्ड उठेर हिँडेपछि आपत्ति जनाए । सांसद सुवाल आफूले गरेको विरोधको सूचनामाथि बोलिरहेका बेला प्रधानमन्त्री प्रचण्ड ढिलोगरी संसद् बैठकमा पुगेका थिए । उनले आफूले दर्ता गरेको विरोधको सूचना फिर्ता नलिने बताए ।

यस्तै, बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ प्रस्तुत गर्ने क्रममा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बोल्ने क्रममा माओवादी सांसदहरूले आक्रोश व्यक्त गरे ।

प्रतिनिधि सभामा प्रस्तुत गर्न विरोधको सूचना दर्ता गरेका शाहीलाई सभामुखले फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिएपछि शाहीले सो विधेयकमा मानवअधिकारको गम्भीर उल्लंघन र मानवअधिकारको उल्लंघन भन्ने कुरा उठेको र त्यसको परिभाषा अलग अलग गरिएको प्रति आपत्ति जनाउँदै विधेयक फिर्ता नलिने बताए ।

विधेयककाे दफा २९ को घ मा द्धन्द्धकालमा कसैले गरेको गम्भीर अपराधलाई प्रचलित कानुनअनुसार सजाय नगरी सजाय घटाउने विषय राखिएको भन्दै गम्भीर फौजदारी कसुरमा सजाय घटाउन नपाइने बताए । यो न्याय र प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेकाे उनकाे भनाइ छ ।

सांसद शाहीले विधेयकमा पीडित र पिडकबीच सहमति भए विशेष अदालतमा मुद्दा नचली मेलमिलाप हुने विषय पनि स्वीकार गर्न नसकिने बताए ।

सांसद शाही र सुवालले विरोधको सूचना फिर्ता नलिएपछि सभामुखले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ माथिको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्दा विराेधकाे सुचना बहुमतले अस्वीकृत भएकाे छ ।

बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अन्तर्राष्ट्रिय मानवअधिकारका प्रचलित सिद्धान्त, प्रचलित कानुनका आधारमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ ले आत्मसाथ गरेको बताइन् ।

उनले जनयुद्धका क्रममा घटेका घटनाका विषयलाई विस्तृत शान्ति सम्झौतामा संक्रमणकालीन न्यायको विषय बनाइने उल्लेख भएको र ६ महिनाभित्र टुङ्गोमा पुर्याइने उल्लेख भएपनि समयमा टुङ्गोमा पुर्याउन नसक्दा शान्ति प्रक्रियाका महत्त्वपूर्ण काम पूरा हुन नसकेको बताइन् । शान्ति प्रक्रियालाई छिटो टुङ्गोमा पुर्याउनका लागि विधेयक संसदमा प्रस्तुत गरिएकाे जिकीर गरिन् ।

बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले किसानलाई समयमा मल दिन नसक्ने यो कस्तो सरकार हो भन्दै प्रश्न गरे । शून्य समयमा बोल्दै सांसद बर्तौलाले यो सरकार कसको हो ? भन्दै प्रश्न गरे ।

‘यो सरकार कसको लागि काम गरिरहेको छ ? नेपालका किसानलाई समयमा एक बोरा मल समेत उपलब्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड सेक्नेगरी, ढाड भाँच्नेगरी मलमा मूल्य वृद्धि गरेको छ । मलमा दिँदै आएको अनुदान कटौती गरेको छ । कहिलेबाट किसानले सरकारबाट यस खालको ज्यादतिपूर्ण अन्याय सहनुपर्ने हो ? भूमीहीन सुकुम्बासीहरुले लामो समयदेखि जग्गाधनी पूर्जा प्राप्त गर्न सकेका छैनन् । जग्गाधनी पुर्जा पाउनका लागि उनीहरुले कहिलेसम्म कुर्नुपर्ने हो ? म सरकारलाई प्रश्न गर्न चाहन्छु ।’ उनले भने ।

अर्का एमाले सांसद रघुजी पन्तले चितवनमा धुर्मुस सुन्तलीले बेबारिसे बनाएर छाडेको क्रिकेट रंगाशाला जिम्मा लिएर निर्माण गर्न आग्रह गरे । ‘चितवनमा धुर्मुस सुन्तलीले बनाएकाे रंगशाला बेवारिसे छ । त्यसलाई सरकारले तुरुन्त लिनुपर्यो र त्यसलाई तिर्नुपर्ने पैसा तुरुन्त तिरेर त्यसको निर्माण सुरु गर्नुपर्यो । त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर त्यहाँको रंगशालालाई बिस्तार गर्नुपर्यो र मुलपानीको रंगशालालाई बनाउँनुपर्यो ।’ सांसद पन्तले भने ।

उनले खेलाडीबाट अपेक्षा गर्ने खेलाडीले जितेको बेलामा एक दुई लाख रुपैयाँ दिएर अघिपछि भने सरकारले कानमा तेल हालेर बस्ने काम गरेको बताए ।

यस्तै, कांग्रेस सांसद रामहरि खतिवडाले सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति विरोध जनाए । शुक्रवार सभामुख घिमिरेलाई भेट्न पुगेका नेपाल पत्रकार महासंघका प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै उनले पत्रकारहरु बिक्रीमा रहेका अभिव्यक्ति दिएकाेमा उनले विराेध जनाउँदै व्यवस्थापिकाको प्रमुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको बताए ।

साेहि विषयमा नेमकिपाका प्रेम सुवालले बिक्री हुने पत्रकार कुन–कुन हुन भनेर पत्ता लगाउन छानबिन समिति बनाउनुपर्ने माग गरे ।  
 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रले संविधानको धारा १०० को उपधारा २ बमोजिम र प्रतिनिधि सभा नियमावलीको व्यवस्था बमोजिम विश्वासको मत लिने प्रस्तावको सूचना दिएको सभामुख घिमिरेले जानकारी गराएका छन् ।

प्रतिनिधि सभाकाे बैठक भाेली दिउँसो १ बजे बस्नेछ ।













0 प्रतिकृया